गाजा शहरमा इजरायली हवाई आक्रमणः तीन प्यालेस्टिनीको मृत्यु

गाजा शहरको पश्चिमी क्षेत्रमा मङ्गलवार भएको तिब्र इजरायली हवाई आक्रमणमा परी कम्तीमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य स्रोतहरूले यस घटनाको पुष्टि गरेका छन् । गाजा स्वास्थ्य निकायका सूचना केन्द्रका निर्देशक जाहेर अल–वाहिदीकाअनुसार हवाई आक्रमणमा ज्यान गुमाउने तीनैजनाको शव र घाइतेहरूलाई उपचारका लागि अल–शिफा मेडिकल कम्प्लेक्स लगिएको छ । अल–वाहिदीले सिन्ह्वा समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार मृतकहरूमा दुई बालबालिका र एक महिला रहेका छन् ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली ड्रोनले गाजा शहरको पश्चिममा अवस्थित अल–कटिबा क्षेत्र नजिकै सो आक्रमण गरेका थिए । एक सुरक्षा स्रोतले सिन्ह्वालाई बताएअनुसार अल–कटिबा क्षेत्रमा एक सशस्त्र समूह पुगेलगत्तै इजरायली विमानले नागरिक सवारी साधनहरूलाई निशाना बनाएका थिए । उक्त कारबाही हमासको आन्तरिक सुरक्षा संयन्त्रका एक अधिकारीलाई लक्षित गरी गरिएको दाबी गरिएको छ ।

इजरायली सेनाले आक्रमणको ठोस कारणबारे विस्तृत विवरण नदिए पनि सुरक्षा बलका लागि उत्पन्न ‘खतरा’ हटाउन गाजाका ‘कैयौँ लक्ष्य’मा प्रहार गरिएको पुष्टि गरेको छ । उक्त सैन्य कारबाहीका क्रममा कुनै पनि इजरायली सैनिक घाइते नभएको सेनाले जनाएको छ ।

गाजाको स्वास्थ्य निकायका अनुसार सन् २०२५ अक्टोबरमा युद्धविरामको घोषणा भएयता हालसम्म १ हजार ३ सय २६ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने ४ हजार ३ सय ९८ जना घाइते भएका छन् ।