
काठमाडाैं, १८ भदाैं । आज अमुक्तभरण सप्तमी, जसलाई मुक्ताभरण सप्तमी वा सन्तान सप्तमी पनि भनिन्छ । हिन्दु धर्मशास्त्रमा विशेष महत्त्व बोकेको एक पावन व्रत र पर्व हो। यो व्रत प्रत्येक वर्ष भाद्रपद महिनाको शुक्ल पक्षको सप्तमी तिथिका दिन मनाइन्छ।
पौराणिक मान्यता अनुसार द्वापर युगमा जब कंसले देवकी र वसुदेवका एक-एक गरी ६ वटा सन्तानको हत्या गरिदिएका थिए,तब शोकमा परेकी देवकीलाई सान्त्वना दिन र उनका आगामी सन्तानको रक्षाका लागि लोमश ऋषिले यो व्रतको विधान बताउनुभएको थियो। लोमश ऋषिले देवकीलाई पुत्र शोकबाट मुक्ति पाउन भाद्रपद शुक्ल सप्तमीका दिन भगवान् शिव-पार्वती र सूर्यदेवको अमुक्तभरण (सन्तान) सप्तमी व्रत बस्न सल्लाह दिनुभएको थियो। देवकीले यो व्रत विधिपूर्वक सम्पादन गरेपछि नै भगवान् श्रीकृष्ण र बलरामको रक्षा भएको र उत्तम सन्तान प्राप्त भएको विश्वास गरिन्छ।


प्राचीन कालमा अयोध्यामा प्रतापी राजा नहुष र उनकी रानी चन्द्रमुखी थिए। रानीकी एक प्रिय सहेली (ब्राह्मणी) थिइन्, जसको नाम रूपमती थियो। एक दिन दुवै सरयू नदीमा स्नान गर्न जाँदा त्यहाँ केही महिलाहरूले भगवान् शिव-पार्वतीको षोडशोपचार पूजा गरी सन्तान सप्तमीको व्रत बसिरहेको देखे। यो देखेर रानी र ब्राह्मणी दुवैले पनि जीवनभर यो व्रत बस्ने सङ्कल्प गरे। तर, घर फर्किएपछि रानीले राजमद र आलस्यका कारण व्रत बस्न बिर्सिइन्,जब कि ब्राह्मणीले निष्ठापूर्वक व्रत सम्पादन गरिरहिन्।

यो व्रतमा शिव-पार्वतीलाई धागो (डोरो) वा कङ्कण अर्पण गरी पूजा गरिन्छ र पछि त्यसलाई रक्षासूत्रका रूपमा सन्तानको नाडी वा गलामा पहिराइदिने गरिन्छ। यसले सन्तानलाई रोग, अकाल मृत्यु र विघ्नबाधाबाट जोगाएर दीर्घायु तथा सर्वसम्पन्न बनाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ।


धार्मिक महत्त्व तथा उद्देश्यसन्तान सुख र रक्षा: यो व्रत विशेषगरी आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य,समृद्धि र रक्षाका लागि बस्ने गर्छन्।
निसन्तानका लागि फलदायी: सन्तान प्राप्ति नभएका दम्पतीले यो व्रत विधिपूर्वक सम्पादन गरेमा उत्तम सन्तान प्राप्त हुने धार्मिक विश्वास छ।

पूजन विधि१.
पूजा आराधना: यस दिन बिहानै स्नान गरी चोखो कपडा लगाएर भगवान् शिव र माता पार्वतीको षोडशोपचार विधिले पूजा-आराधना गरिन्छ।
२. रक्षासूत्र/डोरो धारण: पूजाका क्रममा भगवान् शिव-पार्वतीलाई रातो धागो (डोरो) वा चाँदीको कङ्कण अर्पण गरिन्छ र पूजापश्चात् सन्तानको रक्षाका लागि उक्त डोरो वा कङ्कण पहिराइदिने गरिन्छ।
३. प्रसाद अर्पण: भगवान्लाई मुख्य गरी मालपुवा,खीर वा गुँड/फलाहारको भोग लगाइन्छ।





