दक्षिण कोरियामा जहाज दुर्घटनाः एक जनाको मृत्यु, ६ बेपत्ता

दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह सहर बुसान नजिकै बुधवार एउटा टगबोट पल्टिएर डुब्दा चालक दलका एक सदस्यको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् । योनहाप समाचार एजेन्सीका अनुसार २८६ टन तौल भएको उक्त जहाजमा आठ जना सवार थिए, जसमा ६ जना दक्षिण कोरियाली र दुई जना इन्डोनेसियाली नागरिक थिए ।

स्थानीय समयअनुसार दिउँसो करिब १ः२९ बजे बुसान नजिकैको समुन्द्रमा जहाज दुर्घटनामा परेको थियो । दुर्घटनाको करिव २० मिनेटपछि ५० वर्षका एक इन्डोनेसियाली नागरिकको नजिकै रहेको अर्को व्यापारिक जहाजले सकुशल उद्धार गरेको थियो । यस्तै, कोस्ट गार्डको टोलीले जहाजभित्रबाट ५० वर्षकै एक दक्षिण कोरियाली नागरिकलाई बेहोस अवस्थामा फेला पारेको थियो । उनलाई तत्काल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

करिब ८७ मिटर गहिरो पानीमा रहेको उक्त टगबोट दिउँसो ३ः२७ बजे पूर्ण रूपमा डुबेको थियो । घटनालगत्तै बुसान कोस्ट गार्डले आपत्कालीन उद्धार कार्य सुरु गर्दै १३ वटा गस्ती डुङ्गा, विमान र विशेष गोताखोर टोली परिचालन गरेको छ । खोजी कार्यमा सहयोग गर्न दक्षिण कोरियाली नौसेनाले पनि आफ्ना जहाज र विमानहरू परिचालन गरेको छ ।

प्रतिकूल मौसम, समुद्री छाल र पानीमुनिको तिब्र बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच, राष्ट्रपति ली जे म्युङले घटनाबारे जानकारी लिँदै बेपत्ता भएका नाविकहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ ।