
काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) कर्पोरेसन र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले नेपालका बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत उक्त सहयोगको पुष्टि गर्दै एनभिडिया र सीईओ जेन्सेन ह्वाङप्रति नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ।


उक्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत रसुवाको भोटेकोशी जलाधार क्षेत्रलगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गरिने जनाइएको छ।

अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको यो सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। उहाँले यस्तो ठूलो सहयोगले विपद्को कठिन घडीमा अन्य व्यक्ति तथा संस्थालाई समेत सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
एनभिडिया र जेन्सेन ह्वाङको सहयोगलाई नेपालमा आएको विनाशकारी बाढीपछि राहत तथा पुनर्निर्माणका लागि प्राप्त महत्वपूर्ण निजी क्षेत्रको सहयोगका रूपमा हेरिएको छ।





