
अस्ट्रेलियामा चिनियाँ गाडीहरूको लोकप्रियतासँगै विद्युतीय सवारी साधन (ईभी) को विक्रीले अगस्ट महिनामा नयाँ कीर्तिमान कायम गरेको छ । औद्योगिक तथ्याङ्कअनुसार अस्ट्रेलियाली बजारमा चिनियाँ विद्युतीय गाडीहरूको बढ्दो मागका कारण यो उपलब्धि हासिल भएको हो । ‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसीएआई) ले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अगस्ट महिनामा अस्ट्रेलियामा विक्री भएका कुल नयाँ सवारी साधनमध्ये ’ब्याट्री इलेक्ट्रिक भेहिकल’ (बीईभी) को हिस्सा २४.९ प्रतिशत पुगेको छ ।
यसअघि गत जुन महिनामा २३.३ प्रतिशतको उच्च रेकर्ड कायम भएको थियो । बढ्दो इन्धन मूल्यका कारण गत मे महिनामा पहिलोपटक विद्युतीय सवारीको बजार हिस्सा २० प्रतिशत पुगेको थियो । त्यसयता लगातार चौथो महिना पनि ईभीको विक्री २० प्रतिशतभन्दा माथि रहन सफल भएको छ। एफसीएआईका अनुसार सन् २०२५ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा ईभीको विक्री १७१ प्रतिशतले वृद्धि भएको छ ।


तथ्याङ्कअनुसार अगस्ट महिनामा अस्ट्रेलियाका १० लोकप्रिय सवारी ब्रान्डमध्ये बिवाइडी, जिडब्लुएम, एमजी, गिली र चेरी गरी पाँचवटा चिनियाँ उत्पादकहरू पर्न सफल भएका छन् ।
चिनियाँ ब्रान्ड बिवाइडीले अगस्टमा ८,२३१ वटा नयाँ सवारी साधन विक्री गर्दै उत्पादकहरूको सूचीमा टोयोटापछि दोस्रो स्थान ओगट्न सफल भएको छ । सन् २०२५ को अगस्टमा यसको बिक्री ४,८७७ मात्र रहेको थियो । त्यस्तै, अर्को चिनियाँ ब्रान्ड गिलीले ४,५०४ वटा गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको (४०१ वटा) तुलनामा १००० प्रतिशतभन्दा बढीको वृद्धि हो ।

एफसीएआईका मुख्य कार्यकारी टोनी वेबरले अस्ट्रेलियाको सवारी बजारमा महत्त्वपूर्ण संरचनात्मक परिवर्तन भइरहेको बताएका छन् ।
सन् २०२६ को अगस्ट अन्त्यसम्मको तथ्याङ्कअनुसार, बिवाइडीले अस्ट्रेलियामा कुल ६८,४२३ वटा नयाँ सवारी साधन विक्री गरिसकेको छ । यो संख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०८ प्रतिशतले बढी हो । सन् २०२५ को पहिलो आठ महिनामा बिवाइडीको बिक्री ३२,८३९ रहेको थियो ।





