
रवाण्डाको राजधानी किगालीमा जारी ‘अफ्रिका फुड सिस्टम फोरम’ मा सहभागी नेता, नीति निर्माता र विकास साझेदारहरूले अफ्रिकाको कृषि–खाद्य प्रणालीमा व्यापक रूपान्तरण गर्न तत्काल लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । छलफलमा उनीहरूले भोकमरी, गरिबी र बेरोजगारी जस्ता विद्यमान चुनौतीहरू सम्बोधन गर्न सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने आह्वान गरे ।
कार्यक्रमको उद्घाटन गर्दै रवाण्डाका प्रधानमन्त्री जस्टिन न्सेन्गियुम्भाले अफ्रिकासँग प्रचुर कृषि सम्भावना भए तापनि ती स्रोतहरूलाई उत्पादकत्व र समृद्धिमा बदल्न ढिलाइ गर्न नहुने बताउनु भयो ।


उहाँले कृषिलाई परम्परागत क्षेत्रको रूपमा मात्र नहेरी, यसलाई विशेष गरी युवा र महिलाहरूका लागि आधुनिक रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र आर्थिक अवसरको गतिशील स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा इथियोपियाका पूर्व प्रधानमन्त्री हायलेमरियाम देसालेग्नले विगत दुई दशकदेखिका प्रयासका बाबजुद अफ्रिकी कृषिको रूपान्तरणमा अझै पनि गम्भीर संरचनागत चुनौतीहरू कायम रहेको चेतावनी दिनुभयो । उहाँले उत्पादकत्व, मूल्य शृङ्खला र कार्यान्वयनसँग सम्बन्धित समस्याहरूलाई मुख्य अवरोधका रूपमा चित्रण गर्नुभयो ।
देसालेग्नकाअनुसार सिंचाईको अभाव, कम उत्पादन दिने बीउ, खण्डित बजार, बाली भित्र्याएपछिको क्षति, कमजोर यातायात र शीत भण्डार (कोल्ड चेन) पूर्वाधार, व्यापारिक अवरोध र वित्तमा सीमित पहुँचले कृषि क्षेत्रको विकासलाई रोकेको छ । उहाँले माटोको स्वास्थ्यमा आएको ह्रास र जलवायु परिवर्तनका जोखिमहरूबाट बच्न पुनरुत्थानशील कृषिको आवश्यकता रहेको समेत उल्लेख गर्नुभयो ।

नीतिगत तहमा बनाइएका महत्वाकांक्षी रणनीतिहरू सार्वजनिक निकायहरूको कमजोरी, बजेट अभाव र अन्तर–मन्त्रालय समन्वयको कमीका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म चल्ने यस फोरममा राजनीतिक नेतृत्व, नीति निर्माता, अनुसन्धानकर्ता, कृषक, लगानीकर्ता र वैज्ञानिकसहित ५० भन्दा बढी देशका ५ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।




