
त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ११ दिनदेखि फसेका दुई जनाको शनिबार जीवितै उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये एक जना २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक रहेका छन् । आयोजनाको अडिट ४ सुरुङ (टनेल) मा थुनिएका उनलाई नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विज्ञ टोलीले संयुक्त प्रयासमा उद्धार गरेको हो ।
बाढी आएको ११ औं दिनमा जीवितै फेला परेका उनलाई प्राथमिक उपचारका लागि नुवाकोटको त्रिशुलीस्थित मैथली ब्यारेकमा ल्याइँदैछ ।


यसैगरी, नुवाकोटको बेत्रावतीबाट चण्डिका श्रेष्ठ नामकी एक महिलाको पनि शनिवार सकुशल उद्धार गरिएको छ । त्रिशुली नदीको बाढीले घर पुरिएपछि उनी विगत ११ दिनदेखि त्यहीँ फसेकी थिइन् । उद्धार टोलीले उनलाई जीवितै फेला पारेर उद्धार गरेको हो । बाढी र पहिरोको चपेटामा परेर लामो समयसम्म सम्पर्कविहीन रहेका उनीहरूलाई जीवितै उद्धार गरिनु सकारात्मक उपलब्धि हो ।





