अतिक्रमित गुठी मातहत पोखरीमा पुनः डोजर चल्ने, आर्थिक लेनदेनको आरोप

सुभाष कायस्थ 

जनकपुरधाम, २० भदौ । गुठी संस्थान शाखा कार्यालय धनुषा मातहत जनकपुरधाम उपमहानगरपालिकाभित्र अतिक्रमित पोखरीहरुको डिल खाली गराउने अभियानलाई तीव्रता दिइएको छ ।

गत भदौ ६ गते जनकपुरधामस्थित अतिक्रमित ७ वटा पोखरीको डिलमा रहेका घरहरु डोजरले भत्काएको १४ औं दिन शुक्रवार पुनः दोश्रो चरणमा १५ वटा पोखरीको डिल ७ दिनभित्र खाली गर्न सूचना प्रकाशन गरिएको छ ।

गुठी संस्थाले जनकपुरधामस्थित अतिक्रमित भनिएका पोखरीहरु देवान पोखरी (चन्द्रकूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्वी), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्ड लगायतका पोखरी तथा तिनका डिलमा अतिक्रमण भएको सूचनामा उल्लेख गरेको छ ।

ती पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनको समय दिएको छ । पहिलो चरणमा ७ वटा पोखरीमा अतिक्रमण गरी बनाइएका ६५ वटा घर डोजरले भत्काइएको थियो ।

सात दिनसम्म पोखरी तथा पोखरीको अतिक्रमण  डिल सम्बन्धित व्यक्तिले खाली गरेन भने आठौँ दिनदेखि पुनः डोजरले घर लगायतका संरचना भत्काइने गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ को प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताएका छन् ।

उनका अनुसार सूचनामा उल्लेखित पोखरी मध्ये १२ वटाको रेखांकन भइसकेको छ भने तीनवटाको आइवारसम्म भइसक्नुपर्ने हो । वृहत्तर जनकपुर विकास क्षेत्र परिषदका तात्कालिन प्रमुख भोजराज घिमिरेले तयार पारेको प्रतिवेदनको आधारमा अतिक्रमित पोखरीहरुको आधार लिइएको हो । तर अतिक्रमणको रेखांकन भने नापी कार्यालयले गर्दै आएका छन् ।

समितिले सार्वजनिक सूचना जारी गर्दै राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिल परिसरमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण गरेर भोगचलन गरिरहेको जनाउँदै तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत गुठी संस्थानले दिएको छ ।

जनकपुरधामका ऐतिहासिक पोखरी तथा गुठी सम्पत्तिमाथि लामो समयदेखि अतिक्रमण हुँदै आएको विषयमा सरकारी निकाय गम्भीर नरहेको भनी पटक–पटक गुनासो आइरहेको थियो ।

images

 

आर्थिक लेनदेनको आरोप

images

पहिलो चरणमा अतिक्रमित डिल खाली गराउँदा कच्ची घर मात्र भत्काइएको र आर्थिक  लेनदेनमा पैसावालाको घर नत्काएको भनी आरोप लाग्दै आएको छ ।

घर भत्काइएका व्यक्तिहरुले आफूहरुको अतिक्रमण गरी बनाइएको भने तोडियो र सोही लाईनमा रहेका पक्कीवाल घर आर्थिक लेनदेनको आधारमा गुठी संस्थानले छाडेको भन्ने आरोप लगाउंदै आएको हो ।

images

उनीहरु भन्छन् ‘एउटै डिलको एउटै लाईनमा रहेका २५ घर मध्ये २० वटा घर तोडियो र ५ वटा घर लालपुर्जा छ भनेर छोडियो । जब मेरो घर डिलमा छ भने तिनीहरु बसेका डिलको लालपुर्जा कसरी बन्यो, त्यसको छानबीन हुनुपरयो ।’

आरोप बारे खण्डन गर्दै समितिका सदस्य सचिव पोखरेलले भने ‘हामीले कहीँ पनि वा कसैसँग काखापाखा वा आर्थिक लेनदेन गरेका होइनौं । सम्बन्धित नापी कार्यालयले रेखांकन गरे दिएको नापनक्सा अनुसार भत्काएका हौं । नापी कार्यालयले कुन आधारमा रेखांकन गरेको हो र अन्य व्यक्तिको लालपुर्जा कसरी बन्यो भन्ने कुरा तिनका पदाधिकारीहरुलाई नै थाहा होला ।’

उनले थप्दै भने ‘जहाँसम्म केही पक्की घर पुरै नतोडिएको कुरा हो । जहाँसम्म रेखांकन गरिएको छ, त्यहासम्मको अधिकांश हामीले भत्काएका छौं । बांकी तिनीहरु आफै भत्काउने हो भन्ने प्रतिबद्धताले केही भाग छोडेका हौं ।