
इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य इजेन ज्वालामुखी क्षेत्र वन डढेलोका कारण अस्थायी रूपमा बन्द गरिएको छ । डढेलो पर्यटकीय मार्ग नजिकै फैलिएपछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले शुक्रवार यस्तो निर्णय गरेका हुन् ।
पूर्वी जाभा संरक्षण निकायका प्रमुख नुर पात्रिया कुर्नियावानकाअनुसार बन्युवांगी र बोन्डोवसो जिल्लाहरूमा फैलिएको यस प्राकृतिक आरक्षमा अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधिहरू पूर्णतः स्थगित गरिएको छ ।


बन्युवांगी विपद् व्यवस्थापन निकायका प्रमुख पार्तानाले ज्वालामुखीको दह (क्रेटर) तर्फ जाने मुख्य पदमार्गमा पर्ने ‘पोन्डोक बुन्डर’ नजिकै डढेलो फैलिएकाले उक्त मार्ग बन्द गरिएको जानकारी दिए । डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू, दमकल र १५ मिटर उचाइसम्म पानी फाल्न सक्ने १५ वटा वाटर पम्पहरू परिचालन गरिएको छ । डढेलो लागेका कतिपय क्षेत्रहरू भीर र खोँचमा रहेका कारण सवारी साधन पुग्न कठिन देखिएको छ । त्यसैले, अधिकारीहरूले डढेलो निभाउन हवाई माध्यम (एरियल फायरफाइटिङ) प्रयोग गर्ने विषयमा पनि विचार गरिरहेको पार्तानाले बताए ।

इजेन ज्वालामुखी इन्डोनेसियाको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक मानिन्छ । यो क्षेत्र विशेषगरी यहाँ देखिने दुर्लभ ‘निलो आगो’ (ब्लु फायर) र फिरोजा (टक्र्वाइज) रङको क्रेटर तालका लागि विश्वभर चर्चित छ ।




