अजा एकादशी व्रत, सर्वपाप नाश भई मनोकाङ्क्षा पूरा हुने विश्वासमा मनाइदैँ

काठमाडाैं, २२ भदाैं । भाद्रपद (भाद्र) महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई ‘अजा एकादशी’ भनिन्छ। सनातन धर्ममा यो एकादशीको विशेष धार्मिक महत्त्व छ। यस दिन निष्ठापूर्वक व्रत बस्नाले र भगवान् विष्णुको पूजा-आराधना गर्नाले सर्वपाप नाश भई मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।

अजा एकादशीको पौराणिक कथा राजा हरिश्चन्द्रको सत्यनिष्ठा र त्यागसँग जोडिएको छ ।

चक्रवर्ती राजा हरिश्चन्द्र आफ्नो सत्यवादिता र धर्मपालनाका लागि प्रसिद्ध थिए। तर, दैवको लीला र सत्यको परीक्षाका क्रममा उनले आफ्नो सम्पूर्ण राज्य, धन र सम्पत्ति गुमाउनुपर्यो। अन्ततः सत्यको रक्षाका लागि उनले आफूलाई, आफ्नी पत्नी र छोरालाई बेचेर एक चाण्डालको सेवक भई मसानघाट (श्मशान) मा शवदाहको काम गर्नुपर्यो।  मसानघाटमा कष्टकर जीवन बिताइरहेका राजा हरिश्चन्द्र आफ्नो पूर्वजन्मको पाप र दुःखको निवारण कसरी गर्ने भन्ने चिन्तामा थिए।

 

सोही समयमा उनीकहाँ महर्षि गौतम आए। राजाले महर्षि गौतमलाई ढोगेर आफ्नो दुःखको पोखो फुकाए। महर्षि गौतमले उनलाई भाद्रपद महिनाको कृष्ण पक्षमा पर्ने अजा एकादशी को विधिपूर्वक व्रत बस्न र भगवान् ऋषिकेश (विष्णु) को पूजा गर्न सल्लाह दिए। महर्षिको उपदेश अनुसार राजा हरिश्चन्द्रले भाद्रपद कृष्ण एकादशीका दिन श्रद्धापूर्वक अजा एकादशीको व्रत बसे र रातभर जागरण गरे। यस व्रतको प्रभावले उनका पूर्वजन्मका समस्त पाप तथा दुष्कर्महरू नष्ट भए।

व्रतको फल स्वरूप भगवान् विष्णु प्रसन्न भई राजा हरिश्चन्द्रलाई उनको हराएको राज्य, धन र परिवार (पत्नी र मृत छोरालाई पुनः जीवित गरी) पुनः प्राप्त गराए । र जीवनको अन्त्यमा राजा हरिश्चन्द्र आफ्ना प्रजासहित परमधाम (वैकुण्ठ) गए।

यसरी अजा एकादशीको व्रत बस्नाले निष्ठापूर्वक पूजा गर्दा मानिसका सम्पूर्ण पाप, दुःख र सङ्कटहरू नष्ट भई हराएको सुख-समृद्धि पुनः प्राप्त हुने धार्मिक विश्वास छ।

मुख्य विशेषता तथा महत्त्व:

images

पाप नाश र पुण्य प्राप्ति: पौराणिक कथा अनुसार अजा एकादशीको व्रत बस्नाले विगतका समस्त पाप तथा दुष्कर्महरू नष्ट हुन्छन्।

भगवान् विष्णुको आराधना: यस दिन भगवान् विष्णुको ऋषिकेश रूपको पूजा गरिन्छ। दिनभर व्रत बसी विष्णु सहस्रनाम वा श्रीमद्भागवतको पाठ गर्नु शुभ मानिन्छ।

images

 

कथाको सन्दर्भ: पौराणिक कथा अनुसार चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्नो राज्य, धन र परिवार गुमाएर सत्यको रक्षाका लागि चाण्डालको सेवा गर्नुपरेको थियो। गौतम ऋषिको सल्लाह अनुसार हरिश्चन्द्रले अजा एकादशीको विधिपूर्वक व्रत बसेपछि उनले हराएको राज्य, धन र परिवार पुनः प्राप्त गरेका थिए।

images

 

व्रत तथा पूजा विधि:

सङ्कल्प र स्नान: एकादशीका दिन बिहानै उठेर नित्यकर्म र स्नान गरी सफा वस्त्र धारण गर्ने र भगवान् विष्णुसामु व्रतको सङ्कल्प लिने।

 

Nepal life insurance

पूजा र दीप प्रज्वलन: घरको पूजाकोठा वा मन्दिरमा भगवान् विष्णुको प्रतिमा वा तस्वीर स्थापना गरी धूप, दीप, फलफूल, तुलसीको पात र जल अर्पण गर्ने।

 

अन्न त्याग्ने: एकादशीका दिन अन्न, दाल र अदुवा-लसुन जस्ता तामसिक भोजन पूर्ण रूपमा त्याग गरी फलाहार वा निराहार व्रत बस्ने।

 

कथा श्रवण र जागरण: साँझपख अजा एकादशीको व्रत कथा सुन्ने वा पढ्ने। सम्भव भए रातभर भगवान्को भजनकीर्तन (जागरण) गर्ने।

 

पारणा: द्वादशीका दिन बिहान पुनः स्नान गरी ब्राह्मण वा गरिबलाई दान-दक्षिणा दिएपछि मात्र व्रत समाप्त (पारणा) गर्ने।