
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले सुरुङभित्र रहेका ६ जनासम्मलाई छिट्टै जीवित उद्धार गर्न सकिने आशा व्यक्त गरेका छन् ।


ढकालका अनुसार नेपाली सेनासँगको सहकार्यमा उद्धार टोली घटनास्थलमै खटिएको छ। सेनालाई विस्फोट गराउन सुरक्षित रहेको जानकारी दिएपछि उद्धारको गति बढेको र पछिल्ला दुई दिन विस्फोट गराइएको उनले बताएका छन् । उनका अनुसार भोलिसम्म सुरुङको मुखसम्म उत्खनन गर्ने यन्त्र पुग्नेछ र त्यसपछि भित्र प्रवेश गरेर उद्धारको काम थप तीव्र हुने अपेक्षा गरिएको छ ।
बाँकी कामका लागि पुल्चोक क्याम्पसमा आवश्यक मेसिन तयार भइरहेको र त्यो भोलि बिहान घटनास्थलमा आइपुग्ने ढकालले बताएका छन्। सुरुङभित्र खाना र पानी रहेको हुनसक्ने तथा केही व्यक्तिको स्वास्थ्य अवस्था स्थिर रहेको हुनसक्ने अनुमान गर्दै उनले छिट्टै उद्धार गर्न सकिने बताएका छन् ।





