मेस्सीद्वारा स्पेनिस क्लब ‘सीडी एल्डेन्से’ खरिद गर्ने सम्झौता

काठमाडौं, २५ भदौ । अर्जेन्टिनाका दिग्गज फुटबलर तथा इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी स्पेनको दोस्रो डिभिजनको क्लब ‘सीडी एल्डेन्से’ को नयाँ मालिक बन्ने भएका छन्।

क्लबले मेस्सीसँग स्वामित्व हस्तान्तरणबारे सैद्धान्तिक सहमति भएको पुष्टि गरेको छ। मेस्सी हालको बहुमत सेयरधनी कोलम्बियाली लगानी समूह ‘टीएच सोलुसियोनेस ग्रुप एसएएस’ बाट १०० प्रतिशत सेयर खरिद गर्ने अन्तिम चरणमा छन्।

मंगलबार स्पेनिस मिडियामा सार्वजनिक समाचारअनुसार यो सम्झौता आगामी केही दिनभित्रै औपचारिक रूपमा पूरा हुने अपेक्षा गरिएको छ।

एल्डेन्सेले जनाएअनुसार, सम्झौतालाई अन्तिम रूप दिन आवश्यक ‘ड्यु डिलिजेन्स’ (विस्तृत जाँचबुझ) र ‘हाइ काउन्सिल फर स्पोर्ट्स’ बाट स्वीकृति पाउनेलगायतका कानुनी प्रक्रियाहरू भने बाँकी नै छन्।

यस वर्षको अप्रिल १६ मा स्पेनको पाँचौं तहको क्लब ‘युई कोर्नेला’ खरिद गरेका ३९ वर्षीय मेस्सीको स्पेनिस फुटबलमा यो दोस्रो लगानी हो। युवा फुटबल विकासका लागि परिचित कोर्नेलाको एकेडेमीबाट निस्किएका धेरै खेलाडीहरूले यसअघि मेस्सीको पूर्वक्लब बार्सिलोनाबाट खेलिसकेका छन्।

यद्यपि, स्पेनिस फुटबलको कडा ‘सैलरी क्याप’ (तलब सीमा) नियमका कारण मेस्सीले एल्डेन्सेमा नयाँ खेलाडी अनुबन्धका लागि सोझै ठूलो रकम खर्च गर्न भने पाउने छैनन्।

आफ्नो खेल जीवनपछि इन्टर मियामीको पनि सेयर प्राप्त गर्ने तयारीमा रहेका मेस्सी, फुटबल क्लबमा लगानी गर्ने पहिलो खेलाडी भने होइनन्। उनका पूर्वसहकर्मी जेरार्ड पिकेको ‘कोस्मोस ग्रुप’ले स्पेनकै दोस्रो डिभिजनको ‘एन्डोरा’ क्लब चलाइरहेको छ। रियल मड्रिडका स्टार भिनिसियस जुनियरले पोर्चुगलको ‘अल्भेर्का’ र किलियन एम्बाप्पे फ्रान्सको ‘एसएम कान’मा बहुमत सेयर रहेको लगानी समूहमा आबद्ध छन्।