
काठमाडौँ, २६ भदौ। इटालियन फुटबल क्लब एएस रोमाले नेपालका बाढीपीडितहरूको सहयोग र जनचेतना अभिवृद्धिका लागि विशेष पहल गर्ने भएको छ।
युइएफए च्याम्पियन्स लिगअन्तर्गत टर्कीको क्लब फेनरबाचे विरुद्धको खेलमा रोमाका खेलाडीहरूले नेपालप्रति समर्थन जनाउने सन्देश अंकित विशेष जर्सी लगाएर मैदानमा उत्रने भएका छन्।

युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार इस्तानबुलमा हुने आफ्नो पहिलो खेलका लागि रोमाका खेलाडीहरूले “टुगेदर फर नेपाल” भन्ने वाक्यांश र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको लोगो अंकित जर्सी लगाउनेछन्।


टर्कीमा खेलकुदसम्बन्धी सट्टेबाजी वा जुवा खेलाउने कम्पनीका लोगो तथा नामहरू टोलीको पोसाकमा प्रदर्शन गर्न प्रतिबन्ध रहेकाले रोमालाई साविक प्रायोजकको लोगो राख्न रोक लगाइएको थियो। त्यसपछि क्लबले यो अवसरलाई परोपकारी कार्यमा उपयोग गर्ने निर्णय गरेको हो।
क्लबले उक्त खेलमा प्रयोग गरिएका जर्सीहरूको लिलामी गरी सङ्कलित रकम रोममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघको निकाय विश्व खाद्य कार्यक्रममार्फत नेपालका बाढीपीडित राहत कोषमा प्रदान गर्नेछ।

“बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएका नेपाली जनतालाई सहयोग गर्न एएस रोमा र विश्व खाद्य कार्यक्रमएकजुट भएका छन्,” रोमाले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जियालोरोसीका खेलाडीहरूले जर्सीको अगाडिको भागमा विश्व खाद्य कार्यक्रमको लोगो अंकित गरी मैदानमा उत्रनेछन्। यस कदमले संकटप्रति विश्वको ध्यानाकर्षण गराउनुका साथै प्रभावित समुदायको सहयोगमा डब्लुएफपीले गरिरहेको कामको प्रचारप्रसारमा समेत मद्दत पुग्नेछ।”

गत महिना पहाडी हिमनदीको एक भाग भत्किँदा पानी र हिलोको विशाल भेल नेपालका रसुवा र नुवाकोट क्षेत्रका साथै चीनको तिब्बत क्षेत्रमा बगेको थियो। जलवायु परिवर्तनको प्रभावका कारण निम्तिएको उक्त विनाशकारी बाढीमा परी १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ५,००० भन्दा बढी अझै बेपत्ता छन्।
च्याम्पियन्स लिगमा मौनधारण र सहयोगको लहर
मंगलबार र बुधबार सुरु भएको च्याम्पियन्स लिगको नयाँ सिजनका सबै खेलहरूमा नेपालका बाढीपीडितहरू प्रति सम्मान व्यक्त गर्दै मौनधारण गरिएको थियो। खेल सुरु हुनुअघि खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए भने रंगशालाका डिजिटल स्क्रिनहरूमा बाढीपीडितको समर्थनमा सन्देशहरू प्रदर्शन गरिएका थिए।


यसैबीच, इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले पनि ‘आर्सनल फाउन्डेसन’ र आफ्नो परोपकारी साझेदार संस्था ‘सेभ द चिल्ड्रेन’ मार्फत नेपालका बाढीपीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ।




