
काठमाडौँ । ब्रिक्स विश्वका प्रमुख उदीयमान अर्थतन्त्र तथा विकासशील राष्ट्रहरूको समूह हो । यसको १८औँ शिखर सम्मेलन आज र भोली भारतको नयाँदिल्लीमा हुँदैछ । सम्मेलनमा चीनका राष्ट्रपति सी जीनपीङ, रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि सहभागी हुने भएका छन् ।
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।


हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन् । इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स सन् २०२४ देखि तथा इन्डोनेसिया सन् २०२५ देखि पूर्ण सदस्य बनेका हुन् ।

यस समूहमा बेलारुस, बोलिभिया, काजाकिस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम साझेदार राष्ट्रका रूपमा रहेका छन् । ब्रिक्सको विस्तारसँगै करिब ३० अन्य देशले पनि समूहमा सहभागी हुन इच्छा देखाएका छन् ।
ब्रिक्सको पहिलो औपचारिक शिखर बैठक सन् २००९ मा रुसको येकातेरिनबर्गमा भएको थियो । त्यसपछि हरेक वर्ष सदस्य राष्ट्रमध्ये एकले शिखर सम्मेलन आयोजना गर्दै आएका छन्। यस वर्ष भारतले सम्मेलन आयोजना गरिरहेको छ ।

ब्रिक्स राष्ट्रहरूको संयुक्त जनसंख्या विश्वको करिब आधा रहेको र विश्व अर्थतन्त्र तथा व्यापारमा पनि उनीहरूको ठूलो हिस्सा रहेको बताइन्छ । आर्थिक सहकार्य यसको मुख्य उद्देश्य भए पनि सदस्य राष्ट्रबीच राजनीतिक तथा सीमा विवादसमेत रहेका छन्। भारत र चीनबीचको सीमा विवाद यसको प्रमुख उदाहरण हो ।
ब्रिक्सले आर्थिक तथा राजनीतिक रूपमा पश्चिमी शक्तिको प्रभावलाई सन्तुलन गर्ने उद्देश्यसहित विकासशील राष्ट्रहरूबीच सहकार्य बढाउने प्रयास गर्दै आएको छ । समूहको मुख्यालय चीनको सांघाईमा रहेको छ ।





