दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योल शक्ति दुरुपयोगको आरोपबाट निर्दोष ठहर

सउलस्थित केन्द्रिय जिल्ला अदालतले दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई आफ्ना पूर्व रक्षामन्त्रीलाई आपराधिक अनुसन्धानबाट जोगाउन राष्ट्रपतीय अधिकारको दुरुपयोग गरेको भन्दै लगाइएको गम्भीर अभियोगबाट शुक्रवार सफाइ दिएको छ । अदालतले एक नौसैनिक (मरिन) को मृत्युसम्बन्धी अनुसन्धान प्रभावित पार्ने स्पष्ट मनसाय पुष्टि हुन नसकेको ठहर गर्दै पूर्वराष्ट्रपति युनलाई सफाइ दिएको समाचार संस्था योन्हापले जनाएको छ ।

उक्त नौसैनिकको मृत्यु प्रकरणको छानबिन गरिरहेको स्वतन्त्र परामर्शदाता ली म्योङ–ह्योनको टोलीले आपराधिक संदिग्धलाई विदेश भगाउन सघाएको र राष्ट्रपतीय पदको दुरुपयोग गरेको ठहर गर्दै युनविरुद्ध पाँच वर्षको जेल सजाय माग गरेको थियो । सन् २०२३ नोभेम्बरमा नौसैनिकको मृत्यु भएको चार महिनापछि मुख्य संदिग्ध मानिएका तत्कालीन रक्षामन्त्री ली जोङ–सुपलाई कारबाहीबाट जोगाउने उद्देश्यले युनले जबर्जस्ती अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको आरोप अभियोजन पक्षले लगाएको थियो ।

अदालतले रक्षामन्त्री लीमाथि लगाइएको यात्रा प्रतिवन्ध फुकुवा गर्न र राजदूत नियुक्ति प्रक्रियालाई तीव्र पार्न संलग्न रहेका अन्य पूर्व उच्च अधिकारीहरूलाई समेत एकमुष्ट सफाइ दिएको छ । यसअघि सन् २०२४ डिसेम्बर ३ मा संकटकालीन सैन्य कानुन (मार्शल ल) घोषणा गरी राज्यविरुद्ध विद्रोह गरेको अभियोगमा युनलाई गत फेब्रुअरीमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

साथै उत्तर कोरियामा ड्रोन घुसपैठ गराएको देशद्रोहसम्बन्धी अर्को मुद्दामा उनले गत जुनमा ३० वर्षको जेल सजाय पाइसकेका छन् । पदमा बहाल रहँदा नै देशद्रोहको मुख्य योजनाकारका रूपमा पक्राउ परी निलम्बन र अभियोग सामना गर्ने युन दक्षिण कोरियाको इतिहासमै पहिलो राष्ट्रपति हुन् ।