
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताउनुभएको छ ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताउनुभएको हो । विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध बनाएको उहाँको भनाइ छ ।
दाहालले विपद्को प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरूलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढङ्गले अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाबी गर्नुभयो । विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी ‘हामी आफैं गर्छौं’ भन्ने अहंकार प्रदर्शन गरेको उनको आरोप छ । उहाँले १० दिनपछि र ११ दिनपछि समेत मानिसहरू जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरै मानिसलाई बचाउन सकिने अवस्था रहेको पुष्टि गर्ने बताउनु भयो ।


सरकारले विपद्का बेला नागरिकसँग गरिरहेको व्यवहारसमेत अहंकारपूर्ण र मनोगत देखिएको दाहालको टिप्पणी छ । यस्तो कार्यशैलीले सरकारले गम्भीर विषयलाई प्रभावकारी ढङ्गले सम्हाल्न नसकेको देखिएको उहाँले बताउनु भयो । दाहालले विपद्का कारण हजारौं मानिस बेपत्ता भएको र ठूलो जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनामा मधेसका जनतालाई सहयोग गर्न अपिलसमेत गर्नुभयो । पहाडमा पीडा हुँदा मधेस र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने परम्परा नेपालमा विकसित हुँदै गएको उल्लेख गर्दै उनले अहिलेको विपद्मा पनि राष्ट्रिय एकताको भावना प्रदर्शन गर्नुपर्ने बताउनु भयो ।

जनस्तरबाट हुने सहयोगले राहत र पुनःस्थापनामा मात्रै नभई राष्ट्रिय एकता तथा पीडितको मनोवैज्ञानिक पुनस्र्थापनामा समेत महत्वपूर्ण भुमिका खेल्ने दाहालको भनाइ छ । प्रदेश सरकार तथा आम नागरिकले पनि यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।


दाहालले विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्ने विषयलाई समेत जोड दिनुभयो । नेपालले लामो समयदेखि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र ‘क्लाइमेट जस्टिस’को विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरण गराउँदै उहाँले विकसित तथा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।
दाहालले भन्नुभयो, ‘अहिले देशको राजनीतिक परिस्थिति जटिल र संशयपूर्ण छ । भदौ २३ र २४ गतेपछि देखिएको राजनीतिक अस्थिरताका प्रभावहरू अझै कायमै छन् । त्यसमाथि रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको भयानक बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । यो सामान्य प्राकृतिक विपत्ति होइन । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका गम्भीर असरको यो एउटा उदाहरण हो । त्यसैले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र ‘लस एन्ड ड्यामेज’को विषय अझ प्रभावकारी रूपमा उठाउनुपर्छ । बढी कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्छ । अहिले पनि खोज, उद्धार, राहत र पुनःस्थापनाको काम जारी छ । म मधेसका जनतालाई विशेष अपिल गर्न चाहन्छु–पहाडमा परेको यो विपत्तिमा मधेसले सहयोग गरौँ । पहाडमा पीडा हुँदा मधेसले र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने हाम्रो परम्परालाई अहिले पनि निरन्तरता दिनुपर्छ । यसले राष्ट्रिय एकतालाई थप बलियो बनाउँछ । सरकारको उद्धार कार्य भने प्रभावकारी हुन सकेन । शुरुदेखि नै स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोग लिएर व्यवस्थित रूपमा उद्धार गरिएको भए अझ धेरै मानिसको ज्यान बचाउन सकिन्थ्यो । १०–११ दिनपछि पनि मानिसहरू जीवित फेला परेका छन् । यसबाट उद्धारमा भएको कमजोरी स्पष्ट हुन्छ । यस्तो संवेदनशील अवस्थामा सरकारले अहङ्कारपूर्ण होइन, गम्भीर, संवेदनशील र जनउत्तरदायी भएर काम गर्नुपर्छ । अझै पनि बेपत्ताको खोजी, पीडितको राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिन आवश्यक छ ।’

हिमपहिरो, हिमताल विस्फोट तथा त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने बाढी र पहिरो कुनै एक देशको मात्रै समस्या नभएको भन्दै दाहालले यसलाई विश्व मानव समुदायसमक्ष देखिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताउनु भयो ।
नोटः यो कार्यक्रम शुक्रवारको हो ।




