
काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सको एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा बदल्नुपर्ने बताएका छन् । उनले आगामी २० वर्षका लागि महत्वाकांक्षी कार्यसूची बनाउन र विश्व शासन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।


मोदीले विश्व शासन सुधारका लागि १० प्रस्ताव तयार गरी आगामी शिखर सम्मेलनसम्म त्यसलाई सुधारको मार्गचित्रका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय वित्तीय संस्थालगायतमा वर्तमान विश्व आर्थिक अवस्थाअनुसार प्रतिनिधित्व र मतदान अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् ।

कृत्रिम बुद्धिमत्ता र महत्वपूर्ण प्रविधिसम्बन्धी भविष्यका नियम निर्माणमा विश्व दक्षिणका राष्ट्रलाई पनि निर्णायक भूमिका दिनुपर्ने मोदीको भनाइ थियो। भारत यसका लागि नेतृत्व लिन तयार रहेको उनले बताएका छन् ।
सम्मेलनमा चीनका राष्ट्रपति सी जीनपीङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका नेताहरू सहभागी भएका छन् ।


ब्रिक्समा अहिले रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्। बेलारुस, बोलिभिया, काजाकिस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम साझेदार राष्ट्रका रूपमा रहेका छन्।

सन् २००९ मा पहिलो औपचारिक शिखर सम्मेलन आयोजना गरेको ब्रिक्सले विकासशील राष्ट्रबीच आर्थिक तथा राजनीतिक सहकार्य बढाउँदै पश्चिमी शक्तिको प्रभावलाई सन्तुलन गर्ने प्रयास गर्दै आएको छ। समूहको मुख्यालय चीनको सांघाईमा रहेको छ ।




