नेपालबाट ओस्कारका लागि चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ सिफारिस

काठमाडौं । आगामी ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालको तर्फबाट चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले सन् २०२७ मा हुने अस्कर अवार्डको ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ लाई छनोट गरिएको जानकारी दिएको हो ।

प्रतिस्पर्धाका लागि समितिमा ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ गरी दुई नेपाली चलचित्र दर्ता भएका थिए । एकेडेमीका मापदण्डअनुसार प्राप्त चलचित्रहरूको अध्ययन र मूल्यांकनपछि अन्तिम चयन गरिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार प्राविधिक र कलात्मक दुवै दृष्टिले उत्कृष्ट ठहरिएकाले उक्त चलचित्रलाई नेपालको आधिकारिक प्रतिनिधित्वका रूपमा सिफारिस गरिएको हो ।

अभिनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार जितेको थियो ।