
सञ्जय मिश्रा
रौतहट, २८ भदौ ।
रौतहटमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ब्रोइलर कुखुरासहितका तीनवटा पिकअप गाडी भन्सार कार्यालयबाट फिर्ता भएका छन् । तर, ती गाडीबाट बरामद भएको स्रोत नखुलेको चार लाख रुपैयाँ भने थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमरा पठाइएको छ ।

बौधिमाई नगरपालिका–८ स्थित हनुमान मन्दिर नजिक शनिबार राति सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वार्टर रौतहटको टोलीले तीनवटा पिकअपमा लोड गरिएको करिब ३२०० किलो ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले कुखुरा र सवारीसाधनसहित नियन्त्रणमा लिएका ६ जनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको थियो ।


तर, अनुसन्धानका क्रममा बरामद कुखुरा भारतीय भएको पुष्टि हुने पर्याप्त प्रमाण फेला नपरेपछि भन्सार कार्यालयले आइतबार दिउँसो कुखुरा र तीनवटै पिकअप फिर्ता गरेको भन्सार कार्यालय प्रमुख विकासकुमार रजकले बताए।

उनका अनुसार स्रोत नखुलेको चार लाख रुपैयाँको हकमा भने अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उक्त रकम थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमरा पठाइएको उनले जानकारी दिए।
चार लाख रुपैयाँ धरौटी र सवारीसाधनबापत थप एक लाख रुपैयाँ भन्सार कार्यालयमा बुझाएपछि कुखुरा, पिकअप र नियन्त्रणमा लिइएका ६ जनालाई छाडिएको हो ।

८६ लाखको मूल्यांकन, नौ लाख ६० हजारको कुखुरा
सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक मूल्यांकनमा कुखुरा, पिकअप तथा अन्य सामग्रीसहित बरामद सामानको कुल अनुमानित मूल्य ८६ लाख ६० हजार रुपैयाँ कायम गरिएको थियो । त्यसमध्ये कुखुराको मात्र मूल्य करिब ९ लाख ६० हजार रुपैयाँ रहेको बताइएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु भट्टका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट स्रोत नखुलेको चार लाख रुपैयाँ नेपाली नगदसमेत बरामद भएको थियो । सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी चेतराज जोशीको कमाण्डमा खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट कुखुरा ओसारपसार भइरहेको सूचनाका आधारमा उक्त कारबाही गरेको थियो ।
भारतीय कुखुरा मिसाएर काठमाडौंसम्म

सीमावर्ती क्षेत्रमा भारतीय कुखुराको अवैध आयात भइरहेको दाबी व्यवसायीहरूले गर्दै आएका छन् । स्थानीयका अनुसार भारतको बिहारस्थित पूर्वी चम्पारणको झरौखर थाना क्षेत्रअन्तर्गत बैनाथपुर क्षेत्रमा सञ्चालित पोल्ट्री फार्मबाट कुखुरा खरिद गरी सीमावर्ती क्षेत्रमा रहेका पोल्ट्री फार्ममा साइकल तथा मोटरसाइकलमार्फत ल्याएर दिनभर स्टक गर्ने गरिएको छ ।
त्यसपछि नेपाली र भारतीय कुखुरा मिसाएर रातको समयमा आफ्नै फार्मको नाममा अनलाइन बिल काटी हेटौंडा तथा काठमाडौंसम्म पठाउने गरिएको प्रत्यक्षदर्शीको दाबी छ । प्रत्यक्षदर्शीका अनुसार करिब ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय कुखुरा मिसाएर पठाउने गरिएको छ । यद्यपि, यस्तो दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।

व्यवसायीहरूका अनुसार नेपाली कुखुराको तुलनामा भारतीय ब्रोइलर प्रतिकिलो जिउँदो करिब ५० रुपैयाँसम्म सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रमा यसको अवैध कारोबार बढ्दै गएको हो । भारतीय कुखुराको अवैध आयातका कारण नेपाली कुखुरा व्यवसाय संकटमा परेको भन्दै कुखुरा उत्पादक संघ रौतहटले लामो समयदेखि आवाज उठाउँदै आएको छ ।

तस्करी नियन्त्रणमा स्थानीय प्रहरी प्रशासनले पर्याप्त चासो नदिएको आरोप लगाउँदै संघले केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि धर्नासमेत दिएको थियो । व्यवसायीहरूले सीमाबाट हुने कुखुराको अवैध आयात नियन्त्रण गर्न प्रभावकारी निगरानी र कारबाहीको माग गर्दै आएका छन् ।
photo -AI




