आजको विश्व, पहिलो पटक मानवनिर्मित यान चन्द्रमामा पुगेको दिन

काठमाडाैं, २९ भदाैं । विश्व इतिहास र राजनीतिमा सेप्टेम्बर १४ (भाद्र २९) का दिन घटेका केही प्रमुख राजनीतिक तथा ऐतिहासिक घटनाहरू यस्ता रहेका छन्  ।

थियोडोर रुजवेल्ट अमेरिकी राष्ट्रपति (१९०१): अमेरिकी राष्ट्रपति विलियम म्याकिन्लेको हत्या भएपछि ४२ वर्षीय उपराष्ट्रपति थियोडोर रुजवेल्ट अमेरिकाको इतिहासकै सबैभन्दा कान्छा राष्ट्रपति बनेका थिए।

ओपेकको स्थापना (१९६०): इरान, इराक, कुवेत, साउदी अरेबिया र भेनेजुएलाले बग्दाद सम्मेलनमार्फत तेल उत्पादक र निर्यात गर्ने राष्ट्रहरूको संगठन ‘ओपेक’ स्थापना गरेका थिए।

 

अफगानिस्तानमा तख्तापलट (१९७९): अफगानिस्तानका राष्ट्रपति नुर मोहम्मद तराकीको हत्या गरी प्रधानमन्त्री हफिजुल्लाह अमिनले सत्ता कब्जा गरेका थिए।

दक्षिण अफ्रिकामा ऐतिहासिक शान्ति सम्झौता (१९९१): रंगभेद अन्त्यको प्रक्रियास्वरूप नेल्सन मण्डेलाको एएनसी, सरकार र इन्काथा फ्रिडम पार्टीबीच ऐतिहासिक राष्ट्रिय शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।

दास क्यापिटलको प्रकाशन (१८६७): कार्ल मार्क्सको प्रसिद्ध वैचारिक ग्रन्थ ‘दास क्यापिटल’ (भाग १) पहिलोपटक प्रकाशन भएको थियो, जसले विश्व साम्यवादी र राजनीतिक विचारधारामा ठूलो प्रभाव पार्यो।

ब्रिटेनद्वारा ग्रिगोरियन क्यालेन्डर अपनाइएको (१७५२): बेलायत र उसका उपनिवेशहरूले जुलियन क्यालेन्डर छाडी ग्रिगोरियन क्यालेन्डर लागू गर्दा सेप्टेम्बर २ पछि सिधै सेप्टेम्बर १४ मानिएको थियो।

images

 

पहिलोपटक मानव निर्मित वस्तु चन्द्रमामा (१९५९): सोभियत संघको अन्तरिक्षयान लुना २ चन्द्रमाको सतहमा पुग्ने विश्वकै पहिलो मानव निर्मित अन्तरिक्षयान बनेको थियो।

images