अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

काठमाडौं । ख्यातिप्राप्त गायिका मिरा राणा आप्mनो जीवनको अन्तिम कार्यक्रमस्वरुप आगामी एकल सांगितीक साँझमा उत्रने भएकी छन् । क्यान्सर विजेता गायिका तथा संगीतकार राणा आगामी असोज ४ गते आइतवार मिरा राणा एकल सांगितीक साँझमा उत्रन लागेकी हुन् ।

क्यान्सरसँग लडेर त्यसलाई जिते पनि क्यान्सरबाटै आप्ना पति उदयजंग राणालाई गुमाउन पुगेकी गायिका मिरा राणा ७५ वर्षको उमेर अन्तिमपटक एकल साँझमा उत्रन लागेकी हुन् ।

क्यान्सर तथा क्यान्सरमाथिको विजय अनि क्यान्सरबाट पतिलाई बचाउन नसकेको पीडापछि गायिका राणाले क्यान्सरका विरामीलाई सघाउन मिरा राणा क्यान्सर समाज स्थापना गरेकी छिन् । सोही समाजको कोष बृद्धि गरी त्यसबाट क्यान्सर भएकाहरुलाई सहयोग गर्न आप्mनो जीवनकै अन्तिम कार्यक्रमस्वरुप मिरा राणा एकल सांगीतिक साँझ गर्न लागिएको उनले बताएकी छन्।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मिराको एकल साँझमा उनले गाएका र संगीत भरेका दुई दर्जन गीत उनका साथमा विभिन्न गायक गायिकाले आआप्mना अन्दाजमा प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य तथा निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा, युनिशा देशारजस्ता गायक गायिकाले मिराका गीतहरु गाउनेछन्। मिर स्वयंले पनि आप्mना गीतहरु प्रस्तुत गर्नेछिन्। कार्यक्रममा मनोहर सुनाम म्युजिक कन्डक्टर रहेका छन्।

कार्यक्रममा मिराले स्वरसम्राट नारायण गोपलसँग गाएको तिमी देऊ या नदेऊ, मेरो जोवन लैजाऊ, आँखैमा कसैको तस्विर बसेछ, बैनीको दया छ भनेजस्ता गीत प्रस्तुत गर्नेछिन् ।

त्यसैगरी, संगीतकार शम्भुजीत बासकोटासँग गाएको नाच्देउ मैच्याङ र सिन्धुपालचोक जिल्लामा, कुमार बस्नेतसँगको मादल घनघन घन्काउँ कि, लेक फुल्यो लालिगुराँसजस्ता गीत पनि प्रस्तुत गरिनेछ। त्यस्तै मिरा राणाको एकल गीत मखमली चोलो चाहिँदैन, मात चढेको साँझ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, विर्सिएर मैले फेरि, आजसम्म जसरी बाँचेर आएँ, मेरो फुललाई वसन्त भयोजस्ता गीत पनि प्रस्तुत गरिनेछ ।