वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

काठमाडौँ, २९ भदौ । गाजा युद्धसम्बन्धी वृत्तचित्र निर्माण गरेको भन्दै इजरायलका संस्कृति मन्त्री मिकी जोहारले चलचित्र निर्माताहरू युभल अब्राहम र राशेल स्जोरको नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।

गाजामा इजरायलले गरेको आक्रमण तथा नरसंहारबारे उनीहरूले बनाएको वृत्तचित्र ‘नाजा’ले प्रसिद्ध भेनिस चलचित्र महोत्सवमा ‘विशेष जुरी पुरस्कार’ जितेपछि मन्त्री जोहारले यस्तो प्रतिक्रिया दिएका हुन्।

आइतबार सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै मन्त्री जोहारले उक्त वृत्तचित्रलाई “घृणित” र चलचित्र महोत्सवमा यसको जितलाई “स्तब्ध पार्ने विषय” भनेका छन्। निर्माताहरूले “विश्वभरका यहुदी-विरोधीहरूबाट वाहवाही बटुल्नका लागि” देशको साखमा हानि पुर्‍याएको आरोप लगाउँदै उनले उनीहरूको कार्यलाई “राज्यविरुद्धको देशद्रोह” को संज्ञा दिएका छन्।

“संस्कृति मन्त्रीको हैसियतले, राज्यविरुद्ध देशद्रोह गरेकोमा यी घृणित निर्माताहरूको इजरायली नागरिकता खारेज गर्न म तत्काल कदम चाल्नेछु,” मन्त्री जोहारले लेखेका छन्।

भेनिस चलचित्र महोत्सवको आधिकारिक विवरणअनुसार ८० मिनेट लामो उक्त वृत्तचित्रले गाजामा प्यालेस्टिनीहरूको “सुनियोजित सामूहिक हत्या” गर्न इजरायलले कृत्रिम बौद्धिकता सञ्चालित प्रणालीहरूको प्रयोग गरेको विषयलाई समेटेको छ। चलचित्रको प्रिमियर प्रदर्शनका क्रममा दर्शकहरूले यस वृत्तचित्रको सम्मानमा २५ मिनेटसम्म उभिएर ताली अर्थात स्ट्यान्डिङ ओभेसन बजाएका थिए।