
उत्तरी चीनको हबेई प्रान्तस्थित कान्झाउमा आयोजित १२ औँ चीन कान्झाउ अन्तर्राष्ट्रिय वुसु प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताले विभिन्न देशका खेलाडीलाई प्रतिस्पर्धासँगै सांस्कृतिक आदानप्रदानको साझा मञ्च प्रदान गरेको छ । प्रतियोगितामा ४० देश तथा क्षेत्रबाट ४ हजार ३५० भन्दा बढी मार्सल आर्ट खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । ठूलो अन्तर्राष्ट्रिय सहभागिताले प्रतियोगितालाई वुसुमार्फत विभिन्न संस्कृति र समुदायबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर बनाएको आयोजकहरूले बताएका छन् ।
प्रतियोगितामा सहभागी रुसी खेलाडी एन्टोन आन्द्रेभ विगत १६ वर्षदेखि कान्झाउमा वुसु सिक्दै आएका छन् । उनका अनुसार वुसु केवल मार्सल आर्ट नभई विभिन्न देशका मानिसलाई एकताबद्ध गर्ने माध्यम पनि हो । आन्द्रेभले चीनका साथी तथा प्रशिक्षकसँग हरेक वर्ष प्रशिक्षण गर्दा आफूले ठूलो आनन्द लिने गरेको बताए। देश फरक भए पनि वुसुले मानिसलाई एक ठाउँमा ल्याउने उनको भनाइ छ । उनले चीनमा सिकेको वुसुलाई रूसमा समेत प्रचार गर्दै आएका छन् । यस वर्षको प्रतियोगितामा उनले रूसबाट ५० भन्दा बढी मार्सल आर्टप्रेमीलाई कान्झाउ ल्याएका थिए ।


अर्का रुसी खेलाडी आन्द्रेई अगिएभले चिनियाँ वुसु आफूलाई निकै मन पर्ने बताए । वुसुमा विभिन्न परम्परागत हतियार तथा विभिन्न शैलीका पारम्परिक मुक्का अभ्यास सिक्न सकिने भएकाले यो आफूले अभ्यास गरेका खेलमध्ये उत्कृष्ट रहेको उनको भनाइ छ । आन्द्रेभका प्रशिक्षक लिउ लियानजुन कान्झाउका परम्परागत मार्सल आर्टका स्थानीय उत्तराधिकारी हुन् । उनले लामो समयदेखि विश्वका विभिन्न देशका मानिससँग वुसु आदानप्रदान तथा प्रशिक्षणलाई प्रवद्र्धन गर्दै आएका छन् ।

लिउकाअनुसार विभिन्न देशका विदेशीहरू वुसु सिक्न कान्झाउ आउने गरेका छन्। उनका शब्दमा, वुसुको कुनै सीमा हुँदैन । युद्धकला तथा वुसुका विभिन्न अभ्यासमार्फत विदेशीहरूले चिनियाँ वुसुको गहिरो र समृद्ध संस्कृतिलाई बुझ्ने अवसर पाउँछन् । पछिल्ला वर्षहरूमा कान्झाउले विभिन्न देशका वुसु खेलाडी तथा अभ्यासकर्तालाई एकै ठाउँमा ल्याउने विभिन्न मञ्च विकास गर्दै आएको छ । खेलकुदको प्रतिष्पर्धाभन्दा पर, वुसु विभिन्न देशका मानिस र संस्कृतिबीच सम्बन्ध जोड्ने सांस्कृतिक पुल बन्दै गएको छ । कान्झाउमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताले पनि खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाएको देखाएको छ ।




