
डायनासोरसँग नजिकको सम्बन्ध रहेको प्टेरोसोर नामक पखेटाधारी प्रागैतिहासिक सरीसृपमा केन्द्रित विश्वकै पहिलो संग्रहालय चीनको उत्तरपश्चिमी सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा आइतबारदेखि सञ्चालनमा आएको छ । सिनजियाङको हामी क्षेत्रमा रहेको राष्ट्रिय जियोपार्कमा संग्रहालय निर्माण गरिएको हो । हामी क्षेत्र प्टेरोसोरका जीवाश्म ठूलो संख्यामा फेला परेको स्थानका रूपमा परिचित छ । करिव ४ हजार ६ सय वर्गमिटर प्रदर्शनी क्षेत्र रहेको हामी प्टेरोसोर संग्रहालयमा अण्डाकार आकारका छवटा प्रदर्शनी कक्ष छन् ।
ती कक्षलाई फरक–फरक उचाइ र कोणमा राखिएको छ । माथिबाट हेर्दा संग्रहालय मरुभूमिमा राखिएका प्टेरोसोरका अण्डाको समूहजस्तै देखिन्छ । संग्रहालयमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको कशेरुकी जीवाश्म विज्ञान तथा पुराजीव मानवशास्त्र संस्थानका अनुसन्धानकर्ताले दुई दशकभन्दा बढी समयदेखि गरेका उद्धार उत्खननबाट प्राप्त जीवाश्महरू प्रदर्शनमा राखिएका छन् ।


प्रदर्शनीमा विश्वमै पहिलोपटक ३–डी स्वरूपमा सुरक्षित अवस्थामा भेटिएका प्टेरोसोरका जीवाश्म अण्डा र भ्रूण समेत राखिएका छन् । यसका साथै ठूलो आकारका प्टेरोसोरका केही नमुना पनि पहिलोपटक सार्वजनिक प्रदर्शनमा ल्याइएको संग्रहालयले जनाएको छ । यी सबै महत्वपूर्ण जीवाश्म र नमुनालाई एउटै स्थानमा एकसाथ प्रदर्शन गरिएको यो पहिलो अवसर हो ।

संग्रहालयकाअनुसार प्रदर्शनीले करिब १३ करोड वर्षअघि क्रेटेसियस कालखण्डमा प्टेरोसोरको जीवन र विकासक्रमको समग्र चित्र प्रश्तुत गर्छ ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको संस्थानका प्रमुख सु सिङले संग्रहालयले विश्वव्यापी प्टेरोसोर अनुसन्धानमा चीनको अग्रणी भूमिकालाई उजागर गर्नुका साथै सर्वसाधारणलाई वैज्ञानिक खोजलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने बताए । उनकाअनुसार संग्रहालयले प्राचीन जीवहरूको अद्भुत संसारबारे सर्वसाधारणलाई जानकारी दिनुका साथै वैज्ञानिक अनुसन्धान र पुराजीव विज्ञानप्रति रुचि बढाउन महत्वपूर्ण भुमिका खेल्नेछ । नयाँ संग्रहालयले चीनमा भेटिएका दुर्लभ जीवाश्मलाई संरक्षण र अनुसन्धानसँगै सर्वसाधारणसमक्ष पु¥याउने माध्यमका रूपमा समेत काम गर्ने अपेक्षा गरिएको छ ।





