धनुषामा १५ महिनाका बालक अपहरणपछि ११ दिनपछि उद्धार, महिला पक्राउ

धनुषा । धनुषाको विदेह नगरपालिका–६, तीनकौरियाबाट हराएका १५ महिनाका बालक सिद्धान्त महतोलाई प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाउँदै राखेको आरोपमा प्रहरीले एक महिलालाई समेत पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते अपराह्न करिब ४: ४० बजे कमलेश महतोका १५ महिनाका छोरा सिद्धान्त घरको आँगनमा खेलिरहेका बेला हराएका थिए । बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल परिचालन गरी खोजतलास सुरु गरिएको थियो ।

प्रहरी उपरीक्षक रुपेश खड्काको नेतृत्वमा ६० जनाको प्रहरी टोली घटनास्थल तथा आसपासका क्षेत्रमा परिचालन गरिएको थियो । खोजीका क्रममा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ । साथै जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालयबाट परिचालित सूचना विश्लेषण तथा अनुसन्धान टोलीले समेत खोजी तथा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा बालकलाई धनुषाको कमला नगरपालिका–९ हथलेट्वा बस्ने करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा पासवानले बालकलाई ठाउँ परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाइछिपाई राखेको पाइएको थियो ।

बालकको खोजीका लागि जिल्लाका सम्पूर्ण नाकामा चौबीसै घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानलाई समेत अघि बढाइएको थियो । त्यसक्रममा भदौ २९ गते अपराह्न करिब ३: ३५ बजे शंकित महिलाले बालकलाई उनको घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेको अवस्थामा प्रहरीले फेला पारी तत्काल उद्धार गरेको थियो । स्वास्थ्य परीक्षणपछि बालकलाई अभिभावकको जिम्मा लगाइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बालकलाई छाडेर भागेकी पासवानलाई सोही दिन अपराह्न ३: ४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा धनुषाको विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।