
काठमाडौं । सिंगापुर सरकारले मानिसलाई किताब तथा लामो लेख पढ्ने बानी विकास गराउन पढेबापत नगद पुरस्कार दिने योजना सुरु गरेको छ ।
योजनाअन्तर्गत सहभागीले दैनिक कम्तीमा १५ मिनेट किताब वा लामो लेख पढ्नुपर्नेछ । पढेको समय सरकारी वेबसाइटमा दर्ता गरेपछि पुरस्कार अंक प्राप्त हुनेछन् । ती अंकलाई पछि नगदमा परिणत गर्न सकिनेछ ।

हरेक दिन १५ मिनेट पढे २० भर्चुअल सिक्का प्राप्त हुनेछन् । ५० दिनसम्म लगातार दैनिक १५ मिनेट पढे १ हजार सिक्का पुग्नेछन्, जसलाई १ सिंगापुर डलरमा साट्न सकिनेछ । एक दिनमा एकपटक मात्र पढाइको समय दर्ता गर्न पाइनेछ । सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डले सुरु गरेको यो पाँचवर्षे राष्ट्रिय पठन अभियानको उद्देश्य मानिसलाई मोबाइल फोन, छोटा भिडियो तथा सामाजिक सञ्जालबाट केही समय टाढा राख्दै पढ्ने बानी विकास गर्नु हो ।


सरकारले यस वर्ष कुल ७५ लाख मिनेट पढाइको लक्ष्य राखेको छ भने सहभागीलाई प्रोत्साहन गर्न करिब १ करोड १४ लाख रुपैयाँ बराबरको पुरस्कार छुट्याइएको छ । विशेषज्ञहरूका अनुसार आर्थिक पुरस्कारले पढ्न रुचि भएका मानिसलाई सुरुवात गर्न प्रेरित गर्न सक्छ । तर पढ्नमा रुचि नै नभएका व्यक्तिमा पैसा मात्रले दीर्घकालीन रूपमा पढ्ने बानी विकास गराउन पर्याप्त नहुन सक्ने उनीहरूको भनाइ छ ।
सिंगापुर सरकारले छोटो भिडियोबाट आउने तीव्र सूचनाको तुलनामा किताब तथा लामो लेख पढ्दा एकाग्रता, सोच्ने क्षमता र कल्पनाशक्ति विकास गर्न सहयोग पुग्ने भएकाले दैनिक १५ मिनेटको लक्ष्यबाट अभियान सुरु गरेको जनाएको छ ।





