
काठमाडौं, २ असोज । जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा आफ्नै पार्टी रास्वपाका सांसदसँग असन्तुष्ट बनेकी छन् । उनले सहिद परिवारले आयोजना गरेको स्मृति दिवसलाई लिएर सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेकी छन्।
खतिवडाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूले सांसदभन्दा पहिले एउटा आमाको रूपमा आफ्ना कुरा राखेको उल्लेख गर्दै सन्तान गुमाएकी आमाको पीडामाथि उठेका प्रश्नको जवाफ दिन आफूसँग शब्द कम पर्ने बताएकी छन् ।

सहिद परिवारहरूले आफ्ना सन्तानको सम्झनामा आयोजना गरेको स्मृति दिवसमा आफू पनि सहिदकी आमाका रूपमा सहभागी भएको उल्लेख गर्दै उनले उक्त कार्यक्रम कुनै उत्सव वा शक्ति प्रदर्शन नभएको बताइन्।
खतिवडाले आफूले विगतमा ‘छोराको रगतबाट सांसद बनिस्’ र ‘छोराको नाम बेचेर राजनीति गरिस्’ जस्ता आरोपसमेत सुनेको बताइन्। यस्ता शब्दले आफूलाई पीडा दिए पनि जिम्मेवारी पूरा गर्नुपर्ने ठानेर सकेसम्म चुप बसेको उनको भनाइ छ।


‘हाम्रो मनभित्र हरेक दिन के बितिरहेको छ ? संसदभित्र बसेर पनि आफ्नो सन्तानको सम्झनासँग कसरी लडिरहेकि छु ? मैले बाहिरबाट आएका धेरै कुरा सहेर आएकी छु। छोराको रगतबाट सांसद बनिस।छोराको नाम बेचेर राजनीति गरिस् यस्ता शब्दहरू पनि सुनेकी छु। हरेक शब्दले मुटु चिरेको छ। तर सकेसम्म चुप बसेँ। किनकि जवाफ दिँदै हिँड्नुभन्दा आफ्नो जिम्मेवारी पूरा गर्नु ठूलो ठानेँ। त्यसैले यदि सम्मान गर्न सक्नु हुन्न भने अपमान पनि नगर्नु,’ उनले लेखेकी छन् ।

आफ्नै आन्दोलन र सहयात्रीहरूबाट आउने टिप्पणीले झन् बढी दुख्ने उनको भनाइ छ। ‘तपाईं सधैं जेनजीकै कुरा गर्नुहुन्छ’ भन्ने टिप्पणीप्रति प्रश्न गर्दै उनले आफ्नो छोरा जेनजी आन्दोलनमा सहिद भएकाले आफूले जेनजीबारे कुरा नगरेर कसको कुरा गर्ने भन्दै प्रतिप्रश्न गरेकी छन्।
‘अरूका लागि जेनजी एउटा आन्दोलन होला, मेरो लागि जेनजी मेरो छोराको अन्तिम पहिचान हो,’ उनले लेखेकी छन्।

सहिद परिवारको कार्यक्रम पूर्ण नहुन सक्ने र कमजोरी भए सुझाव दिन तथा सुधार गर्न सकिने बताउँदै खतिवडाले सहिद परिवारको स्मृतिलाई सार्वजनिक आलोचनाको विषय बनाउनुअघि एकपटक आमाको ठाउँमा बसेर सोच्न आग्रह गरेकी छन्।
रास्वपा सचेतक क्रान्तिशिखा धितालले भदौ २३ गते सम्पन्न जेनजी स्मृति दिवसको कार्यक्रमबारे सार्वजनिक रूपमा आलोचना गरेकी थिइन् । आफूले दिएको अभिव्यक्ति र स्टाटसकै कारण अहिले धिताल जेनजी सहिद स्मृति प्रतिष्ठानको आँखाको तारो बनेकी छन् ।

यस्तो छ स्टाटस:

म सामान्यतया फेसबुकमा अरूका स्टाटसहरूमा टिप्पणी गर्ने, हरेक कुरा हेरेर प्रतिक्रिया दिने वा आफ्ना मनका कुरा लेखिरहने मान्छे होइनँ। सायद तपाईंहरूले पनि मलाई फेसबुकमा यस्ता कुरा लेखिरहेको विरलै देख्नुभएको होला।तर आज मनले मानेन।
आज मैले सांसदमा सुनेका र केहि दिन देखि देखेका कुराले यति धेरै चित्त दुखायो कि, धेरै कुरा मनमै राखेर चुप बस्न सकिनँ। त्यसैले आज पहिलोपटक आफ्नो मनको केही कुरा लेख्दैछु।
आज यो लेखिरहँदा म सांसदभन्दा पहिले एउटा आमा भएर लेखुरहेकी छु।
सांसद भएर आएका प्रश्नहरूको जवाफ दिन सजिलो होला, तर सन्तान गुमाएकी आमाको हृदयमाथि उठेका प्रश्नहरूको जवाफ दिन मसँग शब्दहरू कम पर्छन्।

हालै सम्पन्न स्मृति दिवस सहिद परिवारहरूले मिलेर आफ्ना छोराछोरीको सम्झनामा आयोजना गरेको कार्यक्रममा म पनि एउटा सहिदकी आमा भएर सहभागी थिएँ। त्यो कुनै उत्सव थिएन, कुनै शक्ति प्रदर्शन थिएन, त्यो आफ्ना सन्तानहरूको सम्झनामा फेरि एकपटक आँखा रसाउने दिन थियो।
तर दुःख लाग्छ, केही मानिसहरूका लागि त्यो दिन पनि टिप्पणी गर्ने विषय बन्यो।वर्षमा एक दिन आउने स्मृति दिवसमा टिप्पणी गर्न सजिलो होला। फेसबुकमा केही शब्द लेख्न सजिलो होला। सदनमा ऊभिएर बोल्दा केही समय चर्चा र हेडलाइन पाउन पनि सजिलो होला।
तर कहिल्यै कसैले हामीलाई सोध्यो त?
हामीले आफ्ना सन्तान सम्झेर कति रात निदाउन सकेनौँ?
हाम्रो मनभित्र हरेक दिन के बितिरहेको छ? संसदभित्र बसेर पनि आफ्नो सन्तानको सम्झनासँग कसरी लडिरहेकि छु? मैले बाहिरबाट आएका धेरै कुरा सहेर आएकी छु। छोराको रगतबाट सांसद बनिनस।छोराको नाम बेचेर राजनीति गरिस यस्ता शब्दहरू पनि सुनेकी छु।हरेक शब्दले मुटु चिरेको छ। तर सकेसम्म चुप बसेँ। किनकि जवाफ दिँदै हिँड्नुभन्दा आफ्नो जिम्मेवारी पूरा गर्नु ठूलो ठानेँ। त्यसैले यदि सम्मान गर्न सक्नु हुन्न भने अपमान पनि नगर्नु।
तर आफ्नै आन्दोलन, आफ्नै सहयात्री र आफ्नै मान्छेहरूबाट आउने शब्दहरूले चाहिँ झन् धेरै दुख्दोरहेछ।
धेरैले भन्नुहुन्छ।
तपाईं सधैं जेनजीकै कुरा गर्नुहुन्छ।म आज एउटा प्रश्न गर्छु ?
मेरो छोरा जेनजी आन्दोलनमा सहिद भयो।म त्यही पीडा बोकेर यहाँसम्म आएकी छु।मैले जेनजीको कुरा नगरेर कसको कुरा गरूँ? अरूका लागि जेनजी एउटा आन्दोलन होला।मेरो लागि जेनजी मेरो छोराको अन्तिम पहिचान हो।
मलाई फेसबुकमा लेखेर चर्चा कमाउनु छैन।कसैसँग प्रतिस्पर्धा गर्नु छैन।कसैलाई जवाफ दिएर आफूलाई सही साबित गर्नु पनि छैन।तर आज मेरो मनले एउटै कुरा सोधिरहेको छ? मैले कति पटक आफ्नो पीडा प्रमाणित गर्नुपर्ने हो? कति पटक आफ्नो छोराको मृत्युको अर्थ बुझाउनुपर्ने हो? कति पटक सहिदकी आमाले नै आफ्नो आँसुको हिसाब दिनुपर्ने हो?
त्यसैले फेसबुकमा एउटा स्टाटस लेख्नु तपाईंका लागि केही मिनेटको कुरा हुन सक्छ।तर त्यो एउटा स्टाटसले हामीजस्ता भोग्ने परिवारलाई कति दिनसम्म पिरोल्छ, कति रातसम्म निदाउन दिँदैन सायद तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न।
हामी पूर्ण छैनौँ।कार्यक्रम पनि पूर्ण नहुन सक्छ।कमजोरी देखिए सुझाव दिन सकिन्छ। सुधार गर्न सकिन्छ।तर सहिद परिवारको स्मृतिलाई सार्वजनिक रुपमा आलोचनाको विषय बनाउनुअघि एकपटक त्यो आमाको ठाउँमा बसेर सोचिदिनुहोस्, जसको काख सधैंका लागि रित्तिएको छ।
हामीलाई प्रशंसा चाहिएको छैन।हामीले विशेष सम्मान पनि मागेको छैन।कृपया हाम्रो घाउमा फेरि नुन नछर्किदिनुहोस्।
किनकि आन्दोलनको इतिहासमा सहिदहरू एउटा अध्याय होलान्, तर एउटा आमाको जीवनमा सहिद भएको सन्तान सम्पूर्ण किताब हो।र त्यो किताब हामी हरेक दिन पढिरहेका छौँ
आँसुका अक्षरले।




