इटालीलाई पछि पार्दै बेलायतको ‘नेपोली अन द रोड’ विश्वकै उत्कृष्ट पिज्जा चेन

काठमाडौँ । बेलायतको सानो पिज्जा चेन ‘नेपोली अन द रोड’ ले इटालीका चर्चित पिज्जा पसललाई पछि पार्दै विश्वकै नम्बर एक पिज्जा चेनको उपाधि जितेको छ।

इटालीको नेपल्सस्थित तेआत्रो मर्कदांतेमा आयोजित ‘५० टप पिज्जा’ पुरस्कारको १०औँ संस्करणमा ‘नेपोली अन द रोड’ पहिलो भएको हो । यसअघि सातमध्ये छ वर्ष इटालीका पिज्जा पसलले शीर्ष स्थानमा कब्जा जमाएका थिए ।

गोप्य निरीक्षकले स्वाद, सामग्रीको गुणस्तर, मौलिकता र खानाको अनुभवका आधारमा मूल्यांकन गरेका थिए । ३४ वर्षीय संस्थापक तथा मुख्य परिकार बनाउने मिकेले पासकेरेल्लाले यो सफलता पिज्जा क्षेत्रको ‘ओस्कार’ जस्तै भएको बताएका छन् ।

पासकेरेल्लाले इटालीको कासेर्तामा पिज्जा बनाउन सिकेका थिए । उनले लन्डनको चिसविक, रिचमन्ड र सोहोमा तीनवटा पसल सञ्चालन गरिरहेका छन् । खाद्य गाडीबाट सुरु भएको उनको व्यवसाय अहिले तीन स्थायी पसलमा विस्तार भएको हो ।

पासकेरेल्लाले सन् २०२३ मा ‘विश्वकै उत्कृष्ट पिज्जा निर्माता’को उपाधि पनि जितेका थिए । यसपटक भने उनले इटालीका चर्चित पिज्जा पसलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै विश्वकै शीर्ष स्थान हासिल गरेका हुन् ।

शीर्ष १० मा ‘उना पिज्जा नेपोलिताना’ अमेरिकाको न्युयोर्क दोस्रो, ‘कन्फाइन’ इटालीको मिलान तेस्रो र ‘आई मसानीली’ इटालीको कासेर्ता चौथो स्थानमा रहेका छन् । लन्डनको ‘नेपोली अन द रोड’ शीर्ष १० मा पर्ने बेलायतको एक मात्र पिज्जा पसल बनेको छ ।

‘नेपोली अन द रोड’को सफलतामा ‘चिजविक’ नामक विशेष पिज्जाको समेत महत्वपूर्ण भूमिका रहेको छ । यसमा पाँच प्रकारका इटालियन चीज र घरमै तयार गरिएको टमाटरको जाम प्रयोग गरिन्छ । पासकेरेल्लाले स्वाद र सामग्रीको गुणस्तरमा सम्झौता नहोस् भनेर आफ्नो व्यवसायलाई ठूलो चेनमा विस्तार गर्ने केही व्यावसायिक प्रस्तावसमेत अस्वीकार गरेका छन् ।