गुगलको जेमिनीले तीन कम्पनीको प्रणालीमा अनधिकृत पहुँच बनायो

काठमाडौँ । गुगलको कृत्रिम बुद्धिमत्ता प्रणाली जेमिनीले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा आफैँ तीनवटा कम्पनीको प्रणालीमा अनधिकृत पहुँच बनाएको गुगलले जनाएको छ । यो आफैँले यस्तो कार्य गरेको पहिलो ज्ञात घटना भएको बताइएको छ ।

गुगलका अनुसार जेमिनीले इन्टरनेटमा उपलब्ध सार्वजनिक सूचना प्रयोग गर्दै परीक्षणसँग सम्बन्धित ठानेका वेबसाइटमा प्रवेश गर्न प्रयोगकर्ता विवरणसमेत अनुमान गरेको थियो । तर प्रत्येक घटनामा जेमिनी आफैँ रोकिएको गुगलले जनाएको छ । प्रभावित तीनवटै कम्पनीलाई घटनाबारे जानकारी गराइएको छ ।

यी घटना मे महिनामा साइबर सुरक्षा परीक्षण गर्ने स्वतन्त्र कम्पनीले गरेको परीक्षणका क्रममा भएका थिए । पछिल्लो समय अन्य कृत्रिम बुद्धिमत्ता प्रणालीबाट पनि यस्तै घटना सार्वजनिक भएका छन् ।

यसअघि एन्थ्रोपिकको क्लाउडले परीक्षण वातावरणबाट बाहिरिएर तीन संस्थाको प्रणालीमा आफैँ प्रवेश गरेको र ओपनएआईका प्रणालीले पनि सार्वजनिक रूपमा उपलब्ध केही सेवामाथि साइबर आक्रमण गरेको जानकारी आएको थियो ।

कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै यसको सुरक्षा, नियमन र सम्भावित जोखिमबारे विश्वव्यापी बहस बढिरहेका बेला जेमिनीको यो घटनाले थप चासो बढाएको छ ।