सोमालियामा दीर्घकालीन खाद्य सुरक्षा र उत्थानशीलतामा लगानी गर्न डब्ल्यूएफपीको आह्वान

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले सोमालियामा दीर्घकालीन उत्थानशीलता, खाद्य सुरक्षा र पोषणलाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ । डब्ल्यूएफपीले सोमालिया सरकार, दाता राष्ट्र तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अल्पकालीन आपत्कालीन राहतभन्दा दीर्घकालीन समाधानमा जोड दिन आग्रह गरेको हो ।

पूर्वी तथा दक्षिणी अफ्रिकाका लागि डब्ल्यूएफपीका क्षेत्रीय निर्देशक एरिक पर्डिसनले जलवायु परिवर्तन र आन्तरिक द्वन्द्वका कारण थपिँदै गएको जोखिमसँग जुध्न स्थानीय समुदायको उत्थानशीलता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । नैरोबीमा डब्ल्यूएफपीको सोमालिया कन्ट्री स्ट्राटेजिक प्लान (सीएसपी) २०२६–२०३० सार्वजनिक गर्ने क्रममा पर्डिसनले सोमालियालाई निरन्तर मानवीय सहायता आवश्यक पर्ने मुलुकका रूपमा मात्र नभई समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र स्थायित्वको सम्भावित केन्द्रका रूपमा हेर्नुपर्ने बताउनु भयो । उहाँले सोमालियाका जनताको साथमा उभिन डब्ल्यूएफपी प्रतिवद्ध रहेको बताउनु भयो ।

गत अगस्टमा मोगादिसुमा सार्वजनिक गरिएको पाँचवर्षे रणनीतिक योजनाले आपत्कालीन राहतभन्दा पर गएर दीर्घकालीन खाद्य सुरक्षा र संस्थागत क्षमता विकासको ढाँचा अघि सारेको छ । योजनाको कुल बजेट १ अर्ब ५५ करोड अमेरिकी डलर रहेको छ भने यसबाट ६९ लाख ५० हजार मानिस लाभान्वित हुने लक्ष्य राखिएको छ । रणनीतिक योजना सार्वजनिक कार्यक्रममा कूटनीतिज्ञ, नागरिक समाजका अगुवा, दाता निकायका प्रतिनिधि तथा सोमालियाली डायस्पोराका सदस्यहरूको सहभागिता थियो । डब्ल्यूएफपी सोमालियाका देशीय निर्देशक हमिद नुरुले स्थानीय समुदायहरूले बारम्बार आइपर्ने संकटका बाबजुद अनुकूलन र पुनर्निर्माण गर्दै राष्ट्रिय अवस्थाको नयाँ कथा निर्माण गरिरहेको बताउनु भयो । उहाँकाअनुसार योजनाको महत्वपूर्ण पक्ष सोमालियाली प्रणाली र संस्थाहरूको क्षमता सुदृढीकरणमा बढ्दो ध्यान हो ।

विद्यालय भोजन, विपद् जोखिम व्यवस्थापन र आपत्कालीन तयारीजस्ता क्षेत्रमा डब्ल्यूएफपीको भूमिका सरकारको नेतृत्वलाई सहयोग गर्ने, राष्ट्रिय क्षमता अभिवृद्धि गर्ने तथा दीर्घकालसम्म सञ्चालन गर्न सकिने प्रणाली विकासमा केन्द्रित हुँदै गएको उहाँले बताउनु भयो ।