जापानको ‘विषालु ग्यास टापु’को इतिहास लुकाउन नहुने आवाज

जापानको सेतो अन्तर्देशीय सागरमा रहेको ओकुनोसिमा टापु आज जंगली खरायोका कारण ‘¥याबिट आइल्यान्ड’ अर्थात ‘खरायोको टापु’का रूपमा परिचित छ । तर करिव ०.७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो सानो टापुले युद्धकालमा जापानको रासायनिक हतियार उत्पादनको गम्भीर इतिहास बोकेको छ ।

दोस्रो विश्वयुद्धका बेला ओकुनोसिमा इम्पेरियल जापानी सेनाले विषालु ग्यास उत्पादन गर्ने प्रमुख केन्द्रका रूपमा प्रयोग गरेको थियो । त्यहाँ उत्पादन गरिएका रासायनिक हतियार चीनका युद्धभूमिमा पु¥याएर प्रयोग गरिएको र त्यसबाट सैनिक तथा सर्वसाधारण ठूलो संख्यामा प्रभावित भएको इतिहास छ । जापानी नागरिक समूह ‘प्वाइजन ग्यास आइल्यान्ड हिस्टोरिकल रिसर्च इन्स्टिच्युट’की प्रमुख शिजुयो यामाउचीका अनुसार टापुमा विषालु ग्यासको प्रभाव यति व्यापक थियो कि त्यसले वायुप्रदूषणजस्तै सम्पूर्ण क्षेत्र ढाक्ने गरेको थियो ।

उनले भनिन्, “विषालु पदार्थ तलतिर जम्ने र हावा ग्यासले भरिने गरेको बताइन्छ । प्रत्यक्षदर्शीका अनुसार जमिन सेतो कुहिरोले ढाकिएजस्तो देखिन्थ्यो।”

यामाउचीले युद्ध शुरु गर्नु आफैंमा आक्रामक कार्य भएको उल्लेख गर्दै ओकुनोसिमामा अन्तर्राष्ट्रिय सन्धिको उल्लंघन गर्दै विषालु ग्यास उत्पादन गरी युद्धभूमिमा प्रयोग गरिएको बताइन्। उनका अनुसार यसबाट ठूलो मानवीय क्षति भएको थियो । जापानले रासायनिक हतियार उत्पादन तथा प्रयोग गरेर जेनेभा प्रोटोकलको उल्लंघन गरेको बताइन्छ । आफ्नो गतिविधि गोप्य राख्न जापानी सेनाले युद्धभर ओकुनोसिमास्थित विषालु ग्यास कारखानाको निर्माण र सञ्चालनसम्बन्धी जानकारी लुकाएको थियो । सन् १९४५ मा जापानले आत्मसमर्पण गरेपछि कारखानामा रहेका विषालु ग्यासका भण्डार नष्ट गरिएको थियो । जापानी सेनाले सम्बन्धित कागजातसमेत जलाएर प्रमाण लुकाउने प्रयास गरेको इतिहासमा उल्लेख छ ।

तर ओकुनोसिमाको ‘विषालु ग्यास टापु’को इतिहास आज पनि जापानमा व्यापक रूपमा परिचित छैन । कान्साई गाइडाई विश्वविद्यालयका विद्यार्थी ताइची कोसेकीले हिरोसिमामा भएको आणविक बम आक्रमणबारे आफूलाई जानकारी भएपनि सोही प्रान्तमा विषालु ग्यास कारखाना रहेकोबारे आफूलाई थाहा नभएको बताए ।

नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीकी एसोसिएट प्रोफेसर आसामी ओगुराले यो इतिहास जापानी विद्यालयमा अहिले निकै कम पढाइने गरेको बताइन् । जापानले विगतमा विषालु ग्यास उत्पादन गरी चीनमा गम्भीर क्षति पु¥याएको तथ्य जापानी जनताले जान्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, आणविक बम विस्फोटको अनुभव भावी पुस्तामा हस्तान्तरण गर्न सक्रिय अकियो कुसुमोतोले जापानले विगतमा गरेको क्षतिको इतिहास धेरै मानिसलाई अझै थाहा नभएको बताए ।
“यो इतिहास मेटिन नदिन र यस्ता त्रासदी फेरि दोहोरिन नदिन ऐतिहासिक तथ्यहरू जनतासमक्ष पूर्ण रूपमा पु¥याउनुपर्छ,” उनले भने ।