इण्डोनेसियामा चिनियाँ प्रविधिबाट ठूलो फोहोरबाट ऊर्जा उत्पादन परियोजना शुरु

इण्डोनेसियाले बढ्दो फोहोर व्यवस्थापन चुनौती समाधान गर्दै हरित ऊर्जा उत्पादन गर्ने उद्देश्यले पश्चिम जाभा प्रान्तको बोगोरमा ठूलो ‘वेस्––टु–एनर्जी’ परियोजनाको निर्माण शुरु गरेको छ । बोगोर राया–१ वेस्ट–टु–एनर्जी परियोजनाको शिलान्यास बोगोर रीजेन्सीको चिबुङबुलाङ जिल्लामा गरिएको हो ।

इण्डोनेसियाको सार्वभौम सम्पती कोष दानान्तारा र सरकारको सहकार्यमा निर्माण हुने परियोजनामा चिनियाँ वातावरणीय कम्पनी झेजियाङ वेमिङ इन्भाइरोन्मेन्ट प्रोटेक्सन कम्पनी लिमिटेडको प्रविधि प्रयोग गरिनेछ । परियोजनामा करिव २.८ ट्रिलियन इण्डोनेसियाली (१५ करोड ७८ लाख अमेरिकी डलर) लगानी हुने बताइएको छ । यसअन्तर्गत फोहोर जलाएर ऊर्जा उत्पादन गर्ने दुईवटा लाइन निर्माण गरिनेछन्, जसको संयुक्त क्षमता वार्षिक ५ लाख ४७ हजार ५०० टन फोहोर प्रशोधन गर्ने हुनेछ ।

परियोजनाबाट करिव १ हजार २०० रोजगारी सिर्जना हुने र फोहोर विसर्जनका लागि ल्यान्डफिलमाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ ।

दानान्तारा इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पान्डु स्यारिरका अनुसार परियोजनाले ग्रेटर बोगोर क्षेत्रका १ लाखभन्दा बढी घरपरिवारलाई विद्युत् आपूर्ति गर्न पुग्ने हरित ऊर्जा उत्पादन गर्नेछ । उनले परियोजनाले वार्षिक ५ लाख टनभन्दा बढी फोहोर प्रशोधन गर्ने र यो बोगोर सहर तथा बोगोर रीजेन्सीबाट उत्पादन हुने प्रशोधनयोग्य फोहोरको करिव ४५ प्रतिशत बराबर हुने बताए ।

परियोजनाले ल्यान्डफिलबाट हुने फोहोरसम्बन्धी उत्सर्जनलाई ८० प्रतिशतसम्म घटाउने तथा वार्षिक करिव ६ लाख ४० हजार टन कार्बन डाइअक्साइड बराबरको उत्सर्जन कटौती गर्ने अपेक्षा गरिएको छ ।