
मकवानपुर । जंगली जनावरले मकै, गहुँ, कोदो लगायतका अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसानले परम्परागत खेतीको विकल्पका रूपमा सिल्भर डलर (युकालिप्टस) खेती सुरु गरेका छन्।
कोगटेका किसान रमेश रानामगरले ३१ रोपनी क्षेत्रफलमा करिब दुई हजार सिल्भर डलरका बिरुवा लगाउनुभएको छ। उहाँका अनुसार एउटा बिरुवाको मूल्य करिब रु. १ हजार ४ सय पर्छ। रोपेको ७–८ महिनामै उत्पादन लिन सकिने र बजारमा मागसमेत राम्रो रहेकाले आफू उत्साहित भएको उहाँले बताउनुभयो।


“मकै, गहुँ, कोदो, फापर लगाउँदा जंगली जनावरले नष्ट गरिदिन्थे। त्यसपछि नयाँ खेती गर्नुपर्छ भनेर सिल्भर डलर लगाउन थालेँ,” रानामगरले भन्नुभयो।

हाल कोगटेमा चार जना किसानले करिब १ सय रोपनी क्षेत्रफलमा सिल्भर डलरको व्यावसायिक खेती गरिरहेका छन्।
सिल्भर डलर खेतीको मुख्य आकर्षण छोटो समयमै उत्पादन लिन सकिनु हो। किसानका अनुसार रोपेको करिब ७–८ महिनापछि पहिलोपटक हाँगा काट्न सकिन्छ। त्यसपछि गोडमेल तथा स्याहारअनुसार प्रत्येक १–२ महिनामा उत्पादन लिन सकिने उनीहरूको भनाइ छ।


अर्का किसान वासुदेव चुनी मगरले गत फागुनमा चार रोपनी क्षेत्रफलमा ३०० बिरुवा लगाएर खेती सुरु गर्नुभएको हो। करिब रु. ४ लाख ४७ हजार लगानी गर्नुभएका उहाँले हालसम्म २०० किलोग्रामभन्दा बढी सिल्भर डलर बिक्री गरिसक्नुभएको छ।

किसानका अनुसार यसको मूल्य बारीबाटै प्रतिकिलो करिब रु. ३०० मा बिक्री हुने गरेको छ। एउटै बोटबाट लामो समयसम्म हाँगा उत्पादन गर्न सकिने भएकाले दीर्घकालीन आम्दानीको सम्भावना रहेको किसानहरू बताउँछन्।
अस्ट्रेलियाको रैथाने मानिने सिल्भर डलर युकालिप्टसको चाँदीजस्तो देखिने गोलाकार पात यसको प्रमुख विशेषता हो। पातसहितका हाँगा फूलका बुके, माला, होटल–रेस्टुरेन्ट तथा विभिन्न कार्यक्रमको सजावटमा प्रयोग हुने गरेका छन्।

कोगटेका किसानले सिल्भर डलर बिक्रीका लागि बजार खोज्नुपर्ने अवस्था नरहेको बताएका छन्। उत्पादित वस्तु बारीबाटै बिक्री हुने गरेको उनीहरूको भनाइ छ।

“उत्पादन बढाउन सके बजारको समस्या हुँदैन। अहिले त मागअनुसार उत्पादन पुर्याउनै गाह्रो छ,” किसानहरूले बताएका छन्।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले कोगटेमा सिल्भर डलर खेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभएको छ। गाउँपालिकाले यस खेतीलाई व्यावसायिक रूपमा प्रवद्र्धन तथा प्रोत्साहन गर्ने योजना बनाएको उहाँले बताउनुभयो।
किसानहरूले भने बिरुवा महँगो हुनुका साथै सरकारी अनुदान र प्राविधिक सहयोग पर्याप्त नभएको गुनासो गरेका छन्। आवश्यक प्राविधिक ज्ञान र सरकारी सहयोग उपलब्ध भए खेती विस्तार गर्न सहज हुने उनीहरूको भनाइ छ।

परम्परागत मकै, कोदो, गहुँलगायतका खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानका लागि अहिले सिल्भर डलर खेती नयाँ आम्दानीको विकल्प बन्दै गएको छ। यद्यपि व्यावसायिक विस्तारसँगै उत्पादनको गुणस्तर, नियमित आपूर्ति, बजार व्यवस्थापन र दीर्घकालीन मूल्य सुनिश्चिततामा ध्यान दिनुपर्ने देखिन्छ।




