
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ गोलले पराजित गर्दै लिगमा आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ ।
सिटीको जितमा एन्टोइन सेमेन्कोले दुई तथा एनजो फर्नान्डेज, रायन शेर्की र इर्लिङ हालान्डले एक गोल गरेका थिए । सन्डरल्यान्डका ब्रायन ब्रोबीले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

घरेलु मैदानमा भएको खेलमा फर्नान्डेजले नवौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि ब्रोबीले सन्डरल्यान्डका लागि बराबरी गोल गरे । २९औँ मिनेटमा शेर्कीले गोल गर्दै सिटीलाई पुनः अगाडि बढाए पनि ब्रोबीले ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए । पहिलो हाफ सकिनुअघि सेमेन्कोले गोल गरेपछि सिटी ३–२ ले अगाडि रह्यो । खेलको ५७औँ मिनेटमा सेमेन्कोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–२ बनाए । त्यसको दुई मिनेटपछि ब्रोबीले ह्याट्रिक पूरा गर्दै सन्डरल्यान्डलाई पुनः खेलमा फर्काए ।


तर ८१औँ मिनेटमा हालान्डले गोल गरेपछि सिटीले ५–३ को जित सुनिश्चित गरेको थियो । यस गोलसँगै हालान्डले आफूले प्रिमियर लिगमा खेलेका सबै २५ विपक्षी टोलीविरुद्ध गोल गर्ने कीर्तिमान पनि पूरा गरेका छन् ।
यो जितपछि सिटीको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै सन्डरल्यान्डको भने ५ खेलमा ४ अंक रहेको छ र हाल १४औं स्थानमा छ ।





