
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा आएको प्राविधिक समस्याका कारण सोमबार सेयर बजारको कारोबार नै रोकिएको छ। आइतबार बिहानदेखि देखिएको समस्या सार्वजनिक बिदाका कारण समयमै समाधान हुन नसक्दा सोमबार बजार खुलेन।
आइतबार बिहान करिब साढे ५ बजेदेखि टीएमएसमा समस्या देखिएको बताइएको छ। आइतबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार नभए पनि सोमबार बिहान लगानीकर्ताले टीएमएस सञ्चालन गर्न खोज्दा समस्या देखिएपछि यसको व्यापक चर्चा भएको थियो। त्यसपछि नेप्सेले प्राविधिक समस्याका कारण सोमबारका लागि सेयर कारोबार स्थगित गरेको सूचना जारी गरेको हो।

लामो समयसम्म प्रणाली सञ्चालनमा आउन नसक्दा सेयर खरिद–बिक्री गर्न नपाएका लगानीकर्ताले नेप्सेको प्रविधि तथा प्रणाली व्यवस्थापनमाथि प्रश्न उठाएका छन्। संवेदनशील कारोबार प्रणालीमा समस्या आएपछि तत्काल समाधान हुनुपर्ने भए पनि करिब ३० घण्टासम्म समस्या रहनुले लगानीकर्ताको मनोबलमा असर परेको उनीहरूको भनाइ छ।


लगानीकर्ता फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले प्रणालीमा आएको समस्याले लगानीको सुरक्षामाथि समेत प्रश्न उठाएको बताएका छन्। उनले अन्तर्राष्ट्रियस्तरको प्रविधि तथा प्रणाली प्रयोग नगर्नु समस्या निम्तिनुको मुख्य कारण हुनसक्ने भन्दै स्थानीय भेन्डरले बनाएको प्रणालीबाट मात्रै बजार सञ्चालन गर्ने विषयमा प्रश्न उठाएका छन्।
लगानीकर्ता तिलक कोइरालाले पनि यस्ता घटनाले लगानीकर्ताको मनोबल कमजोर बनाउने र नेप्सेको प्रणालीप्रति शंका उत्पन्न गर्ने बताएका छन्। उनले नेप्सेको प्रविधि, सुरक्षा र मनिटरिङमा थप लगानी तथा सुधार आवश्यक रहेको बताउँदै यस्ता समस्या आगामी दिनमा दोहोरिन नदिन दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच, नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले भने समस्या प्राविधिक गडबडी मात्रै हो वा अन्य कारणसमेत हुनसक्छ भन्नेबारे आशंका व्यक्त गरेका छन्। उनले नेप्सेको डेटा तथा प्रणालीसम्बन्धी विषयमा विभिन्न सम्भावना हुनसक्ने भन्दै विस्तृत छानबिन आवश्यक रहेको बताएका छन्।
बारम्बार देखिने प्राविधिक समस्याले नेपालको सेयर बजारको प्रविधिगत पूर्वाधार, प्रणालीको विश्वसनीयता र साइबर सुरक्षाबारे थप प्रश्न उठाएको लगानीकर्ताहरूको भनाइ छ। कारोबार प्रणालीजस्तो संवेदनशील क्षेत्रमा समस्या आएपछि त्यसको कारण पहिचान गरी दीर्घकालीन र भरपर्दो समाधान खोज्नुपर्ने मागसमेत उठेको छ।





