
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपमन्त्री एलिसन हुकरसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध, हालैको भोटेकोशी बाढीपछि भइरहेको राहत तथा पुनर्निर्माणका प्रयास र नेपालको पुनःस्थापनाका लागि अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।


यसैगरी अमेरिकी वाणिज्य मण्डलका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकारी डा. जोसुवा वाकरले पनि मन्त्री खनालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपालमा लगानीका अवसर, आर्थिक सहकार्य विस्तार तथा नेपाल र अमेरिकाबीच व्यावसायिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।





