चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

चीनले बिहीवार उत्तरपश्चिमी चीनको सान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइटहरूको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । बेइजिङ समयअनुसार४ः४६ बजे प्रक्षेपण गरिएको ‘याओगान–४० ०४’ समूहका उपग्रहहरूले आफ्नो पूर्व निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् ।

चीनको अन्तरिक्ष अन्वेषणका लागि यो एक महत्वपूर्ण कदम मानिएको छ । संशोधित ‘लङ मार्च–६’ क्यारियर रकेटको सहायताले ती उपग्रहहरूलाई अन्तरिक्षमा पठाइएको हो ।

चिनियाँ अन्तरिक्ष निकायकाअनुसार यी उपग्रहहरूको मुख्य उद्देश्य इलेक्ट्रोम्याग्नेटिक वातावरणको पहिचान र सोसँग सम्बन्धित प्राविधिक परीक्षणहरू सञ्चालन गर्नु रहेको छ । यो प्रक्षेपण ‘लङ मार्च’ क्यारियर रकेट श्रृंखलाको ६७० औं मिसन हो । यसले चीनको अन्तरिक्ष प्रविधिमा हासिल गरिरहेको निरन्तर प्रगतिलाई पुनः एकपटक पुष्टि गरेको छ । केही वर्षयता चीनले पृथ्वीको अवलोकन तथा वातावरण अनुसन्धानका लागि दर्जनौं रिमोट सेन्सिङ स्याटेलाइटहरू प्रक्षेपण गरिसकेको छ ।

विशेषज्ञहरूकाअनुसार याओगान श्रृंखलाका यी उपग्रहहरूले वातावरणीय तथ्याङ्क संकलनमा सघाउ पु¥याउनेछन्, जसले भविष्यमा वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रक्षेपणका क्रममा सबै प्राविधिक प्रक्रियाहरू सामान्य रूपमा सम्पन्न भएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।