अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने तयारी

काठमाडौं । स्पेसएक्स र टेस्लाका प्रमुख एलन मस्कले भविष्यमा कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक ठूलो हिस्सा कम्प्युटिङ अन्तरिक्षमै हुने दाबी गरेका छन् ।

गुगलका वरिष्ठ निर्देशक ट्राभिस बिल्सको एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै मस्कले भविष्यमा कुल कम्प्युटिङको शतप्रतिशतसम्म अन्तरिक्षमा पुग्न सक्ने बताएका हुन् । यसअघि उनले आगामी वर्ष एनभिडियाका शक्तिशाली कृत्रिम बुद्धिमत्ता कम्प्युटर अन्तरिक्षमा पठाउने योजनाको संकेत गरेका थिए ।

स्पेसएक्सले स्थानीय कम्प्युटिङ क्षमता भएका कक्षीय उपग्रहमार्फत अन्तरिक्षमै कृत्रिम बुद्धिमत्तासम्बन्धी काम गर्न सकिने अवधारणामा काम गरिरहेको छ । यस्ता उपग्रहले अन्तरिक्षमा उपलब्ध ऊर्जा र चिस्याउने सुविधाको उपयोग गर्न सक्ने तथा स्टारलिङ्कका उच्च क्षमताका लेजर सम्पर्कमार्फत तथ्यांक पृथ्वीसम्म पठाउन सकिने अवधारणा छ ।

यसले भविष्यमा कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक केही कम्प्युटिङ संरचना पृथ्वीका तथ्यांक केन्द्रमा नभई अन्तरिक्षमा स्थापना गर्ने सम्भावना देखाएको छ ।

यता गुगलले पनि अन्तरिक्षमा ठूलो स्तरको कृत्रिम बुद्धिमत्ता संरचना निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययनका लागि ‘प्रोजेक्ट सनक्याचर’ अघि बढाएको छ ।

यसअन्तर्गत गुगलले आफ्ना टेन्सर प्रोसेसिङ युनिटलाई अन्तरिक्षमा परीक्षण गर्नेछ । पहिलो अभियानमा एउटा नमुना उपग्रह प्रक्षेपण गरी अन्तरिक्षको वातावरणमा ती चिपले कसरी काम गर्छन् भन्ने परीक्षण गरिनेछ । पहिलो परीक्षण अभियान अक्टोबर १ मा स्पेसएक्सको फाल्कन–९ रकेटमार्फत प्रक्षेपण गर्ने तयारी गरिएको छ । यसलाई ठूलो कक्षीय कृत्रिम बुद्धिमत्ता तथ्यांक केन्द्रको सुरुवातभन्दा पनि प्रारम्भिक प्राविधिक परीक्षणका रूपमा हेरिएको छ ।

गुगलका अनुसार अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता कम्प्युटिङको सम्भावना खोज्नुको प्रमुख कारण सूर्यबाट प्राप्त हुने ऊर्जा हो । पृथ्वीको तल्लो कक्षामा रहेका उपग्रहले लामो समयसम्म सूर्यको प्रकाश प्राप्त गर्न सक्ने भएकाले भविष्यमा त्यसबाट ठूलो मात्रामा सौर्य ऊर्जा उत्पादन गरी कम्प्युटिङ प्रणाली सञ्चालन गर्न सकिने कम्पनीको धारणा छ । धेरै उपग्रहलाई एकआपसमा जोडेर कक्षामै ठूलो कृत्रिम बुद्धिमत्ता काम सञ्चालन गर्न सक्ने समूह निर्माण गर्ने सम्भावनासमेत गुगलले अध्ययन गरिरहेको छ ।

गुगलका वरिष्ठ निर्देशक ट्राभिस बिल्सका अनुसार एउटा सानो उपग्रहमा दर्जनौँ टेन्सर प्रोसेसिङ युनिट चिप राख्न सकिन्छ । ठूलो र जटिल कृत्रिम बुद्धिमत्ता काम सञ्चालन गर्न आवश्यक परे यस्ता धेरै उपग्रहलाई आपसमा जोडेर समूहका रूपमा सञ्चालन गर्न सकिने अवधारणा छ । गुगलले विभिन्न कक्षाको अध्ययनपछि सूर्य उदाउने र अस्ताउने समयसँग मिल्ने कक्षा यसका लागि बढी उपयुक्त हुन सक्ने जनाएको छ। यस्तो कक्षामा सौर्य प्यानलले लामो समयसम्म सूर्यको प्रकाश पाउने भएकाले निरन्तर ऊर्जा आपूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images

गुगलका अनुसार अन्तरिक्षलाई ठूलो स्तरको कृत्रिम बुद्धिमत्ता कम्प्युटिङका लागि प्रयोग गर्ने काम तत्काल सम्भव हुने छैन। पहिलो परीक्षणको मुख्य उद्देश्य कुन प्रविधिले काम गर्छ, कहाँ समस्या आउँछ र के–कस्ता प्राविधिक चुनौती समाधान गर्नुपर्छ भन्ने पत्ता लगाउनु हो ।

प्रारम्भिक परीक्षणबाट प्राप्त अनुभव र तथ्यांकका आधारमा भविष्यका ठूला अन्तरिक्ष अभियानको योजना बनाइने गुगलले जनाएको छ। मस्कले साझा गरेको भिडियोमा बिल्सले सूर्यबाट प्राप्त हुने प्रशस्त ऊर्जालाई उपयोग गर्दै कक्षीय तथ्यांक केन्द्रमार्फत कृत्रिम बुद्धिमत्ता संरचनालाई ठूलो स्तरमा विस्तार गर्न सकिने सम्भावनाबारे बताएका छन् ।

images