लालबकैया खोलामा बाढीको सतह बढ्दो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, ११ असोज । मकवानपुरस्थित लालबकैया खोलामा बाढीको सतह तीव्र रूपमा बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जुरेलीबजार क्षेत्रमा बाढीको सतह खतराको चिह्न नजिक पुगेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको हो।

महाशाखाका अनुसार लाल बकैया खोलामा पानीको बहाव लगातार बढिरहेकाले नदी आसपास र डुबान भइरहने क्षेत्रमा जोखिम उच्च रहेको छ। यसैबीच, लगातारको झरीका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित रोशी खोलामा पनि बाढीको सतह बढेको छ।

बाढी र डुबानको खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा महाशाखाले नदी किनारका बासिन्दालाई सजग रहन आग्रह गरेका छन्।