
बुटवल। लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। बाढीले नदीमा रहेको करिब ५० मिटर लामो पक्की पुलसमेत बगाएको छ।
नदीमा जलसतह अत्यधिक बढेपछि स्याङ्जाको बेलटारीस्थित पावरहाउसबाट पानी बाहिरिने ‘टेलरेस’ भन्दा नदीको सतह १५ मिटरमाथि पुगेकाले आयोजना बन्द गरिएको हो।

पावरहाउसको टेलरेस क्षेत्र नै डुबानमा परेपछि शुक्रबार राति पौने १० बजेदेखि नै विद्युत् उत्पादन बन्द गरी ड्याम साइटका तीनवटै ढोका खोलिएको आयोजनाको मिर्मीस्थित कार्यालयका सहायक प्रशासनिक अधिकृत ठाकुर पाण्डेले जानकारी दिए। ड्यामका गेटहरू खोलिएपछि आयोजनाका तीनवटै टर्बाइन बन्द गरिएका छन्।


यसैबीच, शनिबार रातिदेखि कालीगण्डकीमा बढेको बाढीले आइतबार बिहान करिब ६ बजे मिर्मिस्थित पक्की पुल बगाएको छ। उक्त पुलले गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको गुल्मीलाई जोड्नुका साथै कालीगण्डकी करिडोरसँग समेत सीधा सम्पर्क गराउँथ्यो।
पुल बगेपछि करिडोर हुँदै गुल्मीको अर्वेनी, पूर्तिघाट र बागलुङतर्फको यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसबाट गुल्मी र बागलुङका विभिन्न स्थानबाट मिर्मी र स्याङ्जा हुँदै पाल्पा तथा बुटवलतर्फ आउजाउ गर्ने यात्रुहरू प्रत्यक्ष प्रभावित भएका छन्।





