
काठमाडौं । प्रतिकूल मौसमका कारण नेपालका प्रमुख पदयात्रा गन्तव्य तथा मार्गमा अस्थायी रूपमा रोक लगाइएको छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले जारी गरेको सुरक्षा सूचनामार्फत पदयात्री तथा सहयोगी टोलीका सदस्यको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
एसोसियसनका अनुसार मनसुन लगातारको वर्षा, हिमपात, पहिरो र सडक सञ्जालमा आएको अवरोधका कारण केही क्षेत्रमा पदयात्रा तथा आवागमनमा प्रतिबन्ध लगाइएको र अझै पूर्ण रूपमा अन्त्य नभएकाले सबै पदयात्रा क्षेत्रमा सावधानीपूर्वक योजना बनाएर यात्रा गर्न आग्ररह गरेको छ ।


सगरमाथा क्षेत्रमा तल्लो उचाइका स्थानमा वर्षा भइरहेको छ भने डिङबोचेभन्दा माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको र यस क्षेत्रमा रहेका पदयात्रीलाई थप उच्च उचाइतर्फ नजान आग्रह गरिएको छ। उच्च क्षेत्रमा पुगिसकेका पदयात्रीलाई समेत सुरक्षित आवास वा सुरक्षित आश्रयस्थलमा बस्न र स्थानीय प्रशासन तथा पदयात्रा मार्गदर्शकको निर्देशन पालना गर्न भनिएको छ ।

मनास्लु क्षेत्रमा स्थानीय प्रशासन तथा मनास्लु संरक्षण क्षेत्र आयोजनाले आजका लागि पदयात्रामा रोक लगाएका छन् । पदयात्रा प्रवेश अनुमति दिउँसोपछि मात्र जारी हुने अपेक्षा गरिएको छ। त्यसैले आज नभई भोलिबाट पदयात्राको आधिकारिक सुरुवात हुने एसोसियसनले जनाएको छ । आज तोकिएका जाँच चौकीमा प्रवेश अनुमति जाँच नहुने जनाइएको छ ।
मनास्लु क्षेत्रमा जगतदेखि सिरदिबाससम्मको तल्लो मार्गमा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्दै वर्षाका कारण दोभान क्षेत्रमा ढुंगा खस्ने जोखिम रहेकाले विशेष सतर्कता आवश्यक रहेको जनाइएको छ ।

त्यस्तै, पदयात्रीले जीपमार्फत माछाखोला वा जगतसम्म यात्रा गर्न सक्ने भए पनि बाटोको अवस्थाबारे सावधानी अपनाउनुपर्नेछ । लार्के पाससहित उच्च हिमाली भेगमा निरन्तर हिमपात र वर्षा भइरहेकाले कम्तीमा भोलिसम्म उच्च पासतर्फ नजान आग्रह गरिएको छ। बाटो खुलेपछि थप सूचना जारी गरिने एसोसियसनले जनाएको छ ।
अन्नपूर्ण क्षेत्रमा पनि स्थानीय प्रशासन तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आज पदयात्रामा रोक लगाएका छन् । प्रवेश अनुमति दिउँसोपछि जारी हुने अपेक्षा गरिएकोले पदयात्राको आधिकारिक सुरुवात भोलिबाट हुने जनाइएको छ । अन्नपूर्ण क्षेत्रमा तल्लो मार्गमा पहिरोको जोखिम रहेकाले पदयात्रीलाई सावधानी अपनाउन आग्रह गरिएको छ । थोराङला र तिलिचो ताल जस्ता उच्च क्षेत्रमा निरन्तर हिमपात र वर्षा भइरहेकाले कम्तीमा भोलिसम्म त्यस्ता क्षेत्रमा नजान भनिएको छ ।


लगातारको वर्षाका कारण धेरै स्थानमा सडक सञ्जालसमेत प्रभावित भएको छ । विशेषगरी बेँसीसहर–मनाङ सडकखण्डमा समस्या देखिएको भन्दै पदयात्रीलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा तल्लो मार्गमा पहिरोको सम्भावनाप्रति सचेत रहन आग्रह गरिएको छ ।
त्यस्तै, धौलागिरि, डोल्पा र हुम्ला क्षेत्रमा रहेका प्रमुख पदयात्रा गन्तव्यमा ठूलो अवरोधको सूचना प्राप्त नभए पनि भारी वर्षाका कारण पहुँच मार्गका धेरै सडक प्रभावित भएका छन् । एसोसियसनले यी क्षेत्रमा तल्लो मार्गमा पहिरोको जोखिमप्रति सचेत रहन र कम्तीमा भोलिसम्म उच्च हिमाली पासतर्फ नजान आग्रह गरेको छ । मौसम तथा बाटोको अवस्था हेरेर थप सूचना जारी गरिने जनाइएको छ ।
एसोसियसनले तीव्र वर्षा र हिमपातका कारण प्रमुख पदयात्रा गन्तव्य तथा मार्गमा अस्थायी प्रतिबन्ध वा बन्दको अवस्था रहेकाले पदयात्री र सहयोगी टोलीलाई स्थानीय प्रशासन तथा मार्गदर्शकको निर्देशन पालना गर्न आग्रह गरेको छ । साथै मनसुनको अवधि अझै समाप्त नभएकाले यात्राअघि मौसम, सडक र पदयात्रा मार्गको अवस्था बुझेर मात्र योजना बनाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान आग्रह गरेको छ ।





