
काठमाडौँ, १४ असोज । सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकले विश्वको ध्यान तान्दा क्यालिफोर्निया मुख्य आकर्षणको केन्द्र बन्नेछ। तर, ती खेलहरूको पूर्वतयारीका क्रममा भने अमेरिकाका सबै ५० वटै राज्यको प्रतिनिधित्व रहनेछ।
इतिहासमै पहिलो पटक ओलम्पिक टर्च रिले (मसाल यात्रा) अमेरिकाका सबै राज्यहरूमा पुग्नेछ। यो राष्ट्रव्यापी यात्रा सन् २०२८ को वसन्त ऋतुमा सुरु भई ‘” एल ए २८” को उद्घाटन समारोहमा पुगेर समापन हुनेछ।

यस यात्राको सुरुवात एटलान्टाबाट हुनेछ; एटलान्टाले सन् १९९६ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको थियो र ओलम्पिक आयोजना गर्ने यो नै अमेरिकाको अन्तिम सहर हो।
“हरेक ओलम्पिक खेलको सुरुवात एउटा सानो ज्वालाबाट हुन्छ। त्यो ज्वालालाई लस एन्जलससम्म पुर्याउनु हाम्रा लागि सम्मान र सौभाग्यको कुरा हो, जसलाई हामी देशका हरेक कुनाका बासिन्दासँग बाँड्नेछौँ। किनकि, सबै ५० राज्यका अमेरिकीहरूले उद्घाटन समारोहसम्मको यात्रामा यो ज्वाला बोक्नेछन्,” एल ए २८’ का अध्यक्ष केसी वासरम्यानले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्।


“एटलान्टाबाट यो यात्रा सुरु गर्नु भनेको ओलम्पिकसँग गहिरो सम्बन्ध भएको सहर र कोका-कोलाजस्ता साझेदारहरूप्रतिको सम्मान हो, जसको सहयोगले एक शताब्दीदेखि यो अभियानलाई अघि बढाउन मद्दत गरेको छ। कोका-कोला, जेपीमोर्गन चेस , अलस्टेट र एक्सफिनिटी तथा सहभागी सहरहरूले यो रिलेलाई सम्भव बनाइरहेका छन्। आगामी महिनाहरूमा, हामी देशको यस ऐतिहासिक क्षणमा अझ धेरै सहर र साझेदारहरूलाई स्वागत गर्न आतुर छौँ।”

कोका-कोलाको ओलम्पिकसँगको साझेदारी सन् १९२८ मा सुरु भएको थियो। प्रसिद्ध रूपमा कोका-कोला सङ्ग्रहालय एटलान्टाको सेन्टेनियल ओलम्पिक पार्कसँग जोडिएको छ, जुन १९९६ को ओलम्पिक अघि निर्माण गरिएको थियो। यी दुवै क्षेत्र एटलान्टाका प्रतिष्ठित स्थान मानिन्छन्।
ओलम्पिक ज्योति अमेरिका आइपुग्नुअघि ग्रीसको ओलम्पियामा प्रज्वलित गरिनेछ। ” एल ए २८’ओलम्पिक टर्च रिलेको सम्पूर्ण मार्ग सन् २०२७ मा सार्वजनिक गरिनेछ। सन् २०२८ को ओलम्पिक जुलाई १४ देखि ३० सम्म सञ्चालन हुनेछ। त्यसपछि अगस्ट १५ देखि २७ सम्म प्याराओलम्पिक खेलहरू आयोजना हुनेछन्।

एटलान्टाका मेयर आन्द्रे डिकेन्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा ओलम्पिक ज्योति पुनः भित्र्याउन सहर “तयार रहने” बताएका छन्। “३० वर्षअघि एटलान्टाले विश्वलाई स्वागत गरेको थियो,” डिकेन्सले भने, “सन् १९९६ को शताब्दी ओलम्पिक खेलकुदले यस सहरको स्वरूप नै बदल्यो। यसले विश्वभरका अर्बौँ मानिसहरूलाई आधुनिक एटलान्टासँग परिचित गरायो र हामी सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम छौँ भन्ने प्रमाणित गर्यो।”
उनले थप भनेका छन्, “३० वर्षपछि एटलान्टा निकै परिवर्तन भएको छ। हामी अझ ठूला र विश्वसँग अझ बढी जोडिएका छौँ। त्यसैले, जब ओलम्पिक ज्योति अमेरिका फर्किनेछ, एटलान्टा तयार हुनेछ, ग्रीसबाट यसलाई स्वागत गर्न, समुदायका रूपमा खेलकुदको भावनालाई सँगै मनाउन र यसलाई लस एन्जलस तथा अमेरिकाको ओलम्पिक कथाको अर्को अध्यायतर्फ अघि बढाउन। सन् १९९६ मा त्यो ज्योति बोक्न पाउँदा एटलान्टालाई गर्व लागेको थियो, यसलाई पुनः स्वागत गर्न पाउँदा पनि हामीलाई उत्तिकै गर्व हुनेछ।”




