भैरहवामा सिसासको २७३औँ साहित्यिक सङ्गम सम्पन्न, समाजका विकृति विसङ्गतिविरुद्ध कलम चलाउन जोड

भैरहवा, असोज १८ । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीको २७३औँ मासिक साहित्यिक सङ्गम शनिबार भैरहवामा सम्पन्न भएको छ।

हरेक महिनाको तेस्रो शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको साहित्यिक सङ्गम सिद्धार्थनगर–८ स्थित सहिद स्मृति पुस्तकालयमा सम्पन्न भएको हो।

आख्यानकार प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्य तथा साहित्यकार वनमाली निराकारको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकारहरूले समाज र साहित्यभित्र देखिएका विकृति तथा विसङ्गतिको चिरफार गर्दै समुन्नत समाज निर्माणका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा साहित्यकारहरू विजय सागर, रुद्र ज्ञवाली, संस्थाका पूर्वअध्यक्षहरू सुरज घिमिरे ‘दीपशिखा’, छवि ज्ञवाली, नारायणप्रसाद भण्डारी, कमल पोख्रेल ‘निश्छल’ तथा निवर्तमान अध्यक्ष सरू ज्ञवालीलगायतको आतिथ्य रहेको थियो।

सो अवसरमा डा. शङ्करप्रसाद नेपाल, तिलक लामिछाने, अनमोल शर्मा, लता प्रधान, डिल्लीराज घिमिरे, तुल्सीराम ढकाल, सिर्जना खनाल, प्रकाशलाल श्रेष्ठ, उज्ज्वल बर्मा, सावित्री घिमिरे, सीता काफ्ले, कविता गौतम ज्ञवालीलगायत सर्जकहरूले मन्तव्यसहित आफ्ना गीत, गजल, कविता, मुक्तक, लघुकथा तथा कथा प्रस्तुत गरेका थिए।

साहित्यिक सिर्जनामार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा सर्जकहरूले साहित्यलाई समाज परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रम सिसासका अध्यक्ष विष्णुप्रसाद गजुरेलको अध्यक्षता, उपाध्यक्ष सिर्जना खनालको स्वागत मन्तव्य तथा सचिव रामराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रमको अन्त्यमा संस्थाका आजीवन सदस्य तथा हाइकुकार डि.बी. पुनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

images

वि.सं. २०६० सालमा रूपन्देहीको सिद्धार्थनगरमा स्थापना भएको सिसासले अग्रज साहित्यकारहरूको साथ र सहयोगमा विशेषगरी युवा पुस्तालाई साहित्यिक गतिविधिमा सक्रिय बनाउँदै आएको छ। युवाकै नेतृत्वमा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले साहित्यको विकास र सिर्जनशील प्रतिभाको प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #सिसास #भैरहवा #साहित्यिकसङ्गम #रूपन्देही #साहित्य #सिर्जनशीलसाहित्य

images