
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ र शहबाज सरिफ सरकारबीचको वार्ता विफल भएको छ। वार्ता टुंगोमा नपुगेपछि पार्टीले इस्लामाबादतर्फको लामो मार्च जारी राख्ने निर्णय गरेको छ ।
दुवै पक्षबीच शनिबार साँझदेखि आइतबार बिहानसम्म दोस्रो चरणको वार्ता चले पनि सहमति हुन सकेन । इमरान खानसँग तत्काल भेट गर्न दिनुपर्ने, उनका निजी चिकित्सकलाई स्वास्थ्य परीक्षणको अनुमति दिनुपर्ने तथा आवश्यक परे अस्पताल लैजानुपर्ने पीटीआईको मुख्य माग छ। सरकारले भने पहिले मार्च र प्रदर्शन रोक्ने घोषणा गर्नुपर्ने अडान राखेको थियो ।


पीटीआईले इमरान खानकी बहिनीहरू तथा प्रदर्शनअघि पक्राउ परेका अन्य कार्यकर्ताको रिहाइ, उनकी पत्नी बुशरा बीबीको स्वास्थ्य परीक्षण र उनीविरुद्धका मुद्दाको निष्पक्ष सुनुवाइको मागसमेत गरेको छ । खैबर पख्तुनख्वामा आतंकवाद नियन्त्रणमा केन्द्र र प्रान्तीय सरकारको भूमिकाबारे पनि वार्तामा सहमति हुन नसकेको बताइएको छ ।

वार्ता विफल भएपछि खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहैल अफ्रिदीले मार्च अघि बढाउने घोषणा गरेका छन् । मार्च विभिन्न जिल्लाका समर्थकलाई सहभागी गराउँदै पेशावर हुँदै खैराबाद पुग्ने र त्यसपछि इस्लामाबादतर्फ अघि बढ्ने योजना छ ।
सरकारले भने प्रदर्शनकारीलाई इस्लामाबाद प्रवेश गर्न नदिने चेतावनी दिएको छ । राजधानीतर्फ जाने सडकमा कन्टेनर राखेर अवरोध गर्ने तथा सुरक्षाकर्मीको संख्या बढाउने तयारी गरिएको छ । यससँगै पीटीआईको मार्च र सरकारबीच प्रत्यक्ष टकरावको सम्भावना बढेको छ ।





