
म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको मालढुंगा–बेनी–जोमसोम–कोरला सडक सञ्चालनमा ल्याउन विभिन्न खण्डमा सडक मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ ।
सडकका केही खण्डमा एकतर्फी र दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ भने क्षति भएका स्थानमा सडक खुलाउने काम जारी रहेको सडक विभागले जनाएको छ ।

घासा–कोरला खण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा आएको छ। त्यस्तै, तातोपानी क्षेत्रमा सडक कटान भएको स्थानमा पछाडितर्फको कटान व्यवस्थापन तथा टेवा पर्खाल निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ । पोखरेबगरस्थित पुलको पहुँचमार्ग निर्माण भइरहेको र सडकका अन्य क्षतिग्रस्त खण्डमा समेत निर्माण तथा मर्मतको काम अघि बढाइएको छ ।


रातोपानी क्षेत्रमा दुई स्थानमा सडक पूर्ण रूपमा भत्किएको छ र त्यहाँ पैदल हिँड्नसमेत कठिन हुने अवस्था रहेको छ। भीरकाटे नजिक पनि सडक भत्किएको छ। त्यसैगरी बेगखोला नजिक करिब १०० मिटर सडक पूर्ण रूपमा कटान भएको छ । बैँसेरीको पुरानो पहिरो गएको स्थानमा थप पहिरो गएको छ । यसले सडक सञ्चालनमा थप चुनौती थपेको छ । क्षतिग्रस्त स्थानमा सडक पुनःस्थापनाका लागि आवश्यक काम भइरहेको जनाइएको छ ।
यसैबीच राहुघाटदेखि सिरुवारीसम्मको करिब २२ किलोमिटर ४ सय मिटर चेनेजसम्म एकतर्फी सडक सञ्चालनमा आएको छ । पोखरेबगर नजिकैको रातोपानी खण्डमा पनि सडकको ट्र्याक खोलिएको छ ।

कुनेटो क्षेत्रमा सडक पुर्ने काम भइरहेको छ । मुख्य कटान तथा पहिरो गएको संवेदनशील खण्डमा भने भोलि बिहानदेखि काम सुरु गर्ने तयारी गरिएको छ । उक्त महत्वपूर्ण खण्डको काम सम्पन्न गर्न करिब दुई दिन लाग्ने अनुमान गरिएको छ ।
सडकका विभिन्न खण्डमा एकैपटक काम अघि बढाइएकाले अबको करिब ६ दिनभित्र बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि बाँकी रहेका क्षतिग्रस्त खण्डमा कामको प्रगति, मौसम र थप पहिरोको जोखिमले सडक सञ्चालनको समय प्रभावित हुन सक्ने अवस्था छ ।

मालढुंगा–बेनी–जोमसोम–कोरला सडक मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग भएकाले यसको पुनःस्थापनाले स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।




