नेसन्स लिग: नर्वेविरुद्ध पोर्चुगलको जित, हालान्ड घाइते

काठमाडाैं, १९ असाेज । युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा पोर्चुगल २-१ ले विजयी भएको छ।

यो जितसँगै पोर्चुगल प्रतियोगिताको अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ।

समूह ए ४ अन्तर्गतको रोमान्चक खेलमा घरेलु टोली नर्वेले ३६औँ मिनेटमा अग्रता लिएको थियो। मार्टिन ओडेगार्डको क्रसलाई नियन्त्रणमा लिँदै ब्रेन्टफोर्डका डिफेन्डर क्रिस्टोफर अजरले डि-बक्सबाहिरबाट उत्कृष्ट ‘हाफ-भली’ गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, त्यसको दुई मिनेट बित्न नपाउँदै नुनो मेन्डेसको लामो ‘थ्रो-इन’ मा जोआओ कान्सेलोले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए। खेल सकिन ११ मिनेट बाँकी छँदा जोआओ फेलिक्सको पासमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।

खेलको ८७औँ मिनेटमा विंगर फ्रान्सिस्को कन्सेकाओले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो।

यसैबिच, नर्वे तथा म्यानचेस्टर सिटीका मुख्य स्ट्राइकर अर्लिङ हालान्ड घाइते भएका छन्। खेलको ६७औँ मिनेटमा चोटका कारण लंगडाउँदै मैदानबाट बाहिरिएका हालान्डको स्थानमा जोर्गेन स्ट्रान्ड लार्सन प्रवेश गरेका थिए। आगामी आइतबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको महत्त्वपूर्ण खेलअघि हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी चिन्तित बनेको छ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको यो लगातार तेस्रो जित हो। प्रशिक्षक जर्ज जेससले रोनाल्डोले चाहेको खण्डमा पुनः टोलीमा फर्कन सक्ने स्पष्ट पारेका छन्।

जितसँगै साविक विजेता पोर्चुगल समूह चरणमा दुई खेल बाँकी रहँदा दोस्रो स्थानको डेनमार्कभन्दा ६ अंकले अघि छ भने पराजित नर्वे तालिकाको पुछारमा छ।