
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नयाँ जिम्मेवारीमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ । मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको यसअघि नै अन्यत्र सरुवा भइसकेको थियो। तर, सरुवा भएको कार्यालयमा हाजिर नगरी उनी पिपरा गाउँपालिकामै कार्यरत थिए । यसैबीच गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए पनि उनलाई हाजिर नगराइएको थियो । त्यसपछि मन्त्रालयले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई दिने निर्णय गरेको हो । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ । त्यस्तै, सरुवा भएका शाखा अधिकृतलाई समेत तत्काल सरुवा भएको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । उनको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।


२- नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो । सोही आधारमा आवश्यक कागजात र प्रमाण पेश गरेका ‘क’ र ‘ख’ समूहका आयोजनाको आरसीओडी थप गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ । गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पहिलोपटक स्पष्ट मापदण्डसहित आयोजना वर्गीकरण गर्ने निर्णय गरेको थियो। ‘क’ समूहमा आवश्यक आधारभूत दायित्व पूरा गरेका तथा ‘ख’ समूहमा प्राधिकरणका कारण प्रसारण संरचना निर्माणमा ढिलाइ, काबुबाहिरको परिस्थिति वा कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना समेटिएका छन् । प्राधिकरणका अनुसार हाल ८ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । तीमध्ये ‘क’ समूहमा ४ हजार ४९१ मेगावाट क्षमताका १५० र ‘ख’ समूहमा १ हजार ४२० मेगावाट क्षमताका ६८ आयोजना छन् । बाँकी आयोजना ‘ग’ र ‘घ’ समूहमा वर्गीकृत छन् । ‘ग’ समूहमा आवश्यक उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापन पूरा नगरेका तथा आरसीओडी सकिँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति गरेका आयोजना छन् । ‘घ’ समूहमा अनिवार्य दायित्व पूरा नगरेका वा सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र खारेज भएका आयोजना राखिएका छन् । ‘ख’ समूहमा रहेका आयोजनाको भने नियमित अनुगमन गरिनेछ । प्राधिकरणको विद्युत् व्यापार विभागले आयोजना समयमै सम्पन्न गर्न आवश्यक निर्देशन दिने र त्यसको कार्यान्वयनको अनुगमन गर्नेछ । आवश्यक देखिएमा बढीमा छ महिनाभित्र आयोजनाको पुनः वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले वास्तविक कारणले प्रभावित निर्माणाधीन आयोजना र लामो समयदेखि प्रगति गर्न नसकेका आयोजनाबीच फरक छुट्याउँदै निजी क्षेत्रको लगानीलाई सहजीकरण गर्ने तथा आयोजना निर्माणमा थप जवाफदेहिता कायम गर्ने आधार तयार गरेको छ ।

३- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्यसहित काम अघि बढाएको बताएका छन् । सोमबार, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्दै भूमिहीनलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणलाई तीव्रता दिँदै क्रमशः जिल्लालाई सुकुम्बासी समस्यामुक्त बनाउने दिशामा सरकार अघि बढेको बताएका हुन् । प्रधानमन्त्री शाहका अनुसार विभिन्न जिल्लामा हालसम्म स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ। उनले यसलाई सुरुवातका रूपमा उल्लेख गर्दै अब देशभर अभियानकै रूपमा अघि बढाउने बताएका छन् । उनका अनुसार भूमि समस्या समाधानका लागि गठन गरिएको समितिमार्फत देशभरका तथ्यांक एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको छ। हालसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिसकेको र प्राथमिकता निर्धारण गरी समाधानतर्फ काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । प्रधानमन्त्री शाहले भूमिहीन र सुकुम्बासीको समस्या दशकौँदेखि राजनीतिक प्रतिबद्धताको विषय बने पनि समाधान हुन नसकेको बताएका छन् । उनले २०१५ सालको संसदीय निर्वाचनमै तत्कालीन नेपाली कांग्रेसले भूमिहीन किसानलाई जग्गा वितरण गर्ने विषय घोषणापत्रमा समेटेको स्मरण गरेका छन् । त्यसयता देशमा विभिन्न राजनीतिक व्यवस्था र सरकार परिवर्तन भए पनि भूमिहीनको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । विभिन्न समयमा आयोग, समिति, कार्यविधि र अध्ययन बने पनि अपेक्षित परिणाम आउन नसकेको उनले बताएका छन् । शाहका अनुसार २०७७ सालदेखि गत वर्षसम्म मात्र भूमि समस्या समाधानका नाममा बनेका विभिन्न संरचनामा २ अर्ब रुपैयाँभन्दा बढी राज्यको खर्च भएको देखिन्छ। तर त्यसअनुसार परिणाम नआएको भन्दै उनले विगतका संरचना र काम गर्ने तरिकामै परिवर्तन आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री शाहले निर्वाचनअघि गरिएको घोषणाअनुसार भूमि समस्या समाधानको काम गर्ने तरिका नै परिवर्तन गरिएको बताएका छन्। राजनीतिक भागबन्डा र अनावश्यक संरचना थप्नेभन्दा विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा काम अघि बढाइएको उनको भनाइ छ । उनले नयाँ प्रक्रियालाई छरितो, पारदर्शी र राज्यलाई कम भार पर्ने गरी अघि बढाउने प्रयास भइरहेको बताएका छन्। भूमि समस्या समाधान गर्ने संरचना नै समस्या समाधानमा बाधक बन्ने अवस्था अन्त्य गर्न नयाँ ढंगबाट काम सुरु गरिएको उनको दाबी छ । सरकारले सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाएको प्रधानमन्त्री शाहले बताएका छन् । काठमाडौँ उपत्यकाबाट विस्थापित परिवारका हकमा उनीहरूको स्थायी वतन रहेको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन्। त्यस्तै, झुटो विवरण दिएर आफूलाई भूमिहीन देखाउने व्यक्तिको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया पनि सुरु गरिएको बताएका छन् । प्रधानमन्त्री शाहले भूमि सम्बन्धी ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुनमा आवश्यक सुधार गरी भूमि समस्या समाधानको कामलाई थप गति दिने बताएका छन्। समस्या समाधानमा रहेका कानुनी, प्रक्रियागत तथा संरचनागत अवरोधलाई आवश्यकताअनुसार परिवर्तन गरिने उनको भनाइ छ । उनले भूमिहीन सुकुम्बासीको समस्या समाधानलाई राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको स्पष्ट कार्यसम्पादन लक्ष्यका रूपमा अघि बढाइएको बताएका छन्। जिल्ला–जिल्लामा समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने र सात दशकदेखि समाधानको प्रतीक्षामा रहेका नागरिकलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा उपलब्ध गराउने दिशामा सरकार अघि बढेको उनको भनाइ छ ।
४- मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व प्रवर्द्धनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्यान्डको ‘सेभ एलिफेन्ट फाउन्डेसन’बीच तीन वर्षे समझदारी भएको छ । समझदारीपत्रमा कोषका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र फाउन्डेसनकी संस्थापक तथा निर्देशक साङदुआन चैलेर्टले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जंगली हात्तीको बासस्थान संरक्षण र मानव–हात्ती द्वन्द्व घटाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, घरपालुवा हात्तीको सुरक्षा, स्वास्थ्य, पोषण, उचित आवास, उद्धार तथा पुनर्स्थापनामा थाइल्यान्डको प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गरिनेछ । माउते, हेरचाहकर्ता तथा वन्यजन्तु प्राविधिकको क्षमता अभिवृद्धि र संयुक्त अनुसन्धान पनि गरिनेछ । प्रभावित समुदायमा सचेतना कार्यक्रम सञ्चालन तथा आवश्यक प्रविधि हस्तान्तरणमा समेत सहकार्य गरिने जनाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले तराईका संवेदनशील क्षेत्रमा विद्युतीय तारबार, साइरन, टर्चलाइट वितरण र झाडी सफाइजस्ता उपायसमेत सञ्चालन गर्दै आएको छ । सम्झौताले मानव–हात्ती द्वन्द्व न्यूनीकरणसँगै हात्ती संरक्षणमा दीर्घकालीन सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

५- नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ । महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन् । तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ । सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन् । कोषाध्यक्ष भने सभापतिबाट मनोनित गर्ने प्रस्ताव छ । २९७ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ ४५ र खुला महिलातर्फ १५ जना रहने प्रस्ताव गरिएको छ । हरेक प्रदेशबाट एक महिलासहित चार, उपत्यकाबाट एक महिलासहित दुई, दलिततर्फ महिलासहित १४, आदिवासी जनजाति २०, खसआर्य १८, मधेशी १३, थारु ६ र मुस्लिमतर्फ पाँच जना रहनेछन् । त्यस्तै श्रमिकतर्फ एक महिलासहित तीन, पेशागत विज्ञतर्फ दुई महिलासहित सात र युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ । यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय रहेको थियो । नयाँ संरचनासम्बन्धी प्रस्ताव बन्दसत्रबाट पारित भएपछि यसै महाधिवेशनमा हुने निर्वाचनमा कार्यान्वयनमा आउनेछ ।


६- सरकारले असामान्य रूपमा बढेको निर्माण सामग्रीको मूल्यलाई सम्बोधन गर्न सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डण्डीमा विशेष मूल्य समायोजन गरिने भएको हो । २०८२ चैत १५ गतेपछि पनि कार्यसम्पादन अवधि कायम रहेका सार्वजनिक निर्माण ठेक्कामा वास्तविक र प्रमाणित खपतका आधारमा विशेष मूल्य समायोजन उपलब्ध गराइनेछ । सालबसाली तथा मूल्य समायोजनको व्यवस्था नभएका ठेक्का पनि तोकिएको मापदण्ड पूरा गरेमा यसमा समेटिनेछन् । मूल्य समायोजनको व्यवस्था भएका ठेक्कामा सम्झौताअनुसार प्राप्त हुने रकम घटाएर बाँकी योग्य रकम मात्र विशेष मूल्य समायोजनका रूपमा उपलब्ध गराइनेछ। सामान्य बजार उतारचढावलाई भने यस व्यवस्थाले समेट्ने छैन । अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण भएको असामान्य मूल्यवृद्धिलाई सम्बोधन गर्दै निर्माण कार्य रोक्न नदिन र चालु विकास आयोजनालाई निरन्तरता दिन निर्णय गरिएको जनाइएको छ ।
७- सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसेरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल सभाले उनीहरूलाई प्रकाशद्वारा नियन्त्रित आयन मार्ग र प्रकाशआनुवंशिकीसम्बन्धी खोजका लागि पुरस्कार दिने निर्णय गरेको हो । यी खोजले जीवित मस्तिष्कमा स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने अध्ययनका लागि नयाँ विधि विकास गरेको जनाइएको छ । जर्मनीका पिटर हेगेमान र जर्ज नागेलले एककोषीय शैवालमा ‘च्यानलरोडोप्सिन’ नामक विशेष प्रोटिन पत्ता लगाएका थिए । निलो प्रकाश पर्दा यो प्रोटिनमार्फत आयन प्रवाह हुने र कोषमा विद्युतीय संकेत उत्पन्न हुने उनीहरूको खोज थियो । अमेरिकाका कार्ल डाइसेरोथले यही प्रोटिनलाई स्नायु कोषमा प्रयोग गरी प्रकाशको माध्यमबाट स्नायु संकेत नियन्त्रण गर्न सकिने विधि विकास गरेका थिए । सन् २००५ मा उनले यसको सफल प्रयोग सार्वजनिक गरेका थिए भने दुई वर्षपछि जीवित मुसाको मस्तिष्कमा समेत यो विधि प्रयोग गरेका थिए । यो विधिलाई ‘प्रकाशआनुवंशिकी’ भनिन्छ । यसको प्रयोगबाट विशेष स्मृति, भावना र व्यवहार नियन्त्रण गर्ने स्नायु सञ्जालबारे अध्ययन गर्न सकिएको छ । स्नायु तथा मानसिक रोगसँग सम्बन्धित अनुसन्धानका साथै दृष्टिविहीनता भएका मानिसको दृष्टि पुनर्स्थापनाका प्रयासमा समेत यसको प्रयोग भइरहेको नोबेल सभाले जनाएको छ । नोबेल समितिका अनुसार प्रकाशआनुवंशिकीले मस्तिष्कको अध्ययन गर्ने तरिकालाई परिवर्तन गरेको छ र मानव मस्तिष्कले कसरी काम गर्छ भन्ने लामो समयदेखिको रहस्य बुझ्न नयाँ आधार तयार गरेको छ ।
८- आज बसेका मन्त्रिपरिषद्को बैठकका पाँच निर्णय सरकारले सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: १- नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने । २- नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने । ३- वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गर्ने । ४- जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने । ५- सहसचिव श्री पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने ।
९- पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् । उनको नेतृत्वमा शनिबार भेलासमेत गरी अभियान चलाउने निर्णय गरिएको थियो । सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा आज सार्वजनिक गरिएको हो । नेता खनालले अब अहिलेको अवस्था विश्लेषण गर्दा अब समाजवादको बाटोमा जानुको विकल्प नरहेको भन्दै आफुहरुले यो अभियानको शुरुवात गरेको उल्लेख गरे । उनले नेकपामा देखिएको दक्षिणपन्थी भड्काउका कारण पराजय भोग्नुपरेको फागुन २१ को निर्वाचनपछि सबै दल सानो भएको र खुम्चिएको बताए । अभियानमा नेता हरिबोल गजुरेल पनि जोडिएका छन् । उनले अहिलेको सरकारले जनताका समस्या समाधान गर्न नसक्ने भन्दै रास्वपाको अहिलेको जनमतलाई खहरे भेलको संज्ञा दिएका छन् ।

१०- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५९ कम्पनिका ९० लाख ३ हजार ३८८ कित्ता शेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंक डिभेन्चरको शेयर ५.७५ प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंक डिभेन्चरको शेयर ४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.८४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २२ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने हाथवे इन्भेस्टमेन्टको ८ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

११- नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा निर्वाचन ब्युरो गठन गरी उम्मेदवार छनोट गर्ने जानकारी दिएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले केन्द्रीय कार्यालयअन्तर्गत बनाइने ब्यूरोबाट उम्मेदवार छनौट गर्ने बताएका हुन् । सभापति थापाले अब उम्मेदवार बन्न काँग्रेसको लिडरसिप एकेडेमीबाट कोर्स अनिवार्य लिएको हुनुपर्ने बताउदै अब हुने स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने आफुले सोचेको बताए । उनले अब काँग्रेसमा आफ्नो मान्छेलाई टिकट दिने र पैसा लिएर टिकट दिने समय सकिएको बताउदै अब निश्चित प्रक्रिया पुरा गर्नेले टिकट पाउने बताए । बन्दसत्रलाई सम्बोधन गर्दै थापाले राज्य नागरिकप्रति संवेदनशील र करुणामय हुनुपर्ने बताउदै सुकुम्बासी बस्ती हटाउने क्रममा नागरिकको अवस्था र आवश्यकतालाई बेवास्ता गर्न नहुने र राज्यले नागरिकको दुःख र समस्यालाई समेत बुझ्नुपर्ने बताए । नेपालको सांस्कृतिक पहिचान र चाडपर्वसँग राज्य जोडिनुपर्ने धारणा राख्दै थापाले बजार, निजी क्षेत्र र सरकारको भूमिकाबारे पनि राजनीतिक प्रतिवेदनमा चर्चा गरिएको जानकारी दिए । बन्दसत्रमा थापाको राजनीतिक प्रतिवेदनसँगै महामन्त्री प्रदीप पौडेलको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल भइरहेको छ ।
१२- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अब पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो । जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार कार्य स्थगित गर्ने निर्णय गरिएको हो । बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । लागत अनुमान नखुलेका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ । प्रधानमन्त्री शाहले पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अघि बढाइने बताएका छन्। बैठकमा विपक्षी दल, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सरकारलाई पूर्ण सहयोग रहने बताएका थिए । परिषद्ले भोटेकोशी–त्रिशूली बाढी तथा मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मी तथा सहयोग गर्ने दातृराष्ट्र र विकास साझेदारप्रति पनि धन्यवाद व्यक्त गरिएको छ ।

१३- ब्राजिलको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाभन्दा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लावियो बोल्सोनारो अगाडि देखिएका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आगामी अक्टोबर २५ मा दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा फ्लावियोले करिब ४७ प्रतिशत र लुलाले करिब ४५ प्रतिशत मत पाएका छन् । ४५ वर्षीय फ्लावियो बोल्सोनारो रियो दि जेनेरियोबाट सिनेटर हुन् । उनका पिता जायर बोल्सोनारो सत्ता कब्जाको षड्यन्त्रसम्बन्धी मुद्दामा करिब २७ वर्षको जेल सजाय पाएपछि चुनाव लड्न नसक्ने अवस्थामा छन् । त्यसैले फ्लावियोलाई बोल्सोनारो परिवारको राजनीतिक उत्तराधिकारीका रूपमा हेरिएको छ । ८० वर्षीय लुला चौथोपटक राष्ट्रपति बन्ने प्रयासमा छन् । उनले सामाजिक कल्याण र गरिबका लागि गरेका कामलाई चुनावी अभियानको मुख्य विषय बनाएका छन् । तर महँगी, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र अपराधका कारण उनको सरकार आलोचनामा परेको छ । संसदीय निर्वाचनमा पनि दक्षिणपन्थी दलहरूले बलियो प्रदर्शन गरेका छन् । फ्लावियोको दल तल्लो सदनमा सबैभन्दा ठूलो शक्तिका रूपमा देखिएको छ । बोल्सोनारो परिवारको राजनीतिक प्रभाव कायम रहेकाले ब्राजिलको निर्वाचनप्रति अमेरिका, चीन र ब्रिक्स सदस्य राष्ट्रहरूको समेत चासो बढेको छ ।
१४- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज १८ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, झिंगे दाउ-२, पार्वती, आचार्य, बा: एक योद्धा र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड १ लाख ९६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४४ हजार २६३ टिकट बिक्री गरेको छ । त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ९ करोड १३ लाख १६ हजार कमाई गरेको छ भने यस चलचित्रका ३ लाख २१ हजार ३६२ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ९९ लाख १३ हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख ६ हजार ४५९ टिकट विक्री भएको छ । त्यस्तै, असोज २ गते देखि प्रदर्शनमा आएको झिंगेदाउ- २ ले एक करोड ४५ लाख ६० हजार कमाई गरेको छ । यस फिल्मले ४७ हजार ९५८ टिकट विक्री गरेको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको पार्वतीले बक्स अफिसमा अहिलेसम्म २ करोड २९ लाख १६ हजार कमाई गरेको छ भने अहिलेसम्म ८१ हजार ५९२ टिकट विक्री भएका छन् । त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड २७ लाख कमाइ गरेको छ । यस चलचित्रले ३६ हजार २० टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ । त्यस्तै असोज ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म आचार्यले एक करोड ५६ लाख ६७ हजार कामाई गरेको छ भने यस फिल्मका ५४ हजार १०६ टिकट विक्री भएका छन् । त्यसैगरी, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको फिल्म बा: एक योद्धाले अहिलेसम्म एक करोड ९३ लाख कमाई गरेको छ । यस फिल्मका ६५ हजार ५६० टिकट विक्री भएका छन् ।
१५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नै रिपब्लिकन पार्टीका नेताहरूको असन्तुष्टि बढ्न थालेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि केही रिपब्लिकन उम्मेदवारले ट्रम्प र उनका नीतिबाट दूरी बनाउन थालेका छन् । कतिपय उम्मेदवारले चुनावी वेबसाइटबाट ट्रम्प र उनको ‘अमेरिका फर्स्ट’ नीतिसम्बन्धी उल्लेख हटाएका छन् भने केहीले ट्रम्पसँग एउटै मञ्चमा देखिनसमेत नचाहेको समाचारमा उल्लेख छ । रिपब्लिकन नेताहरूले ट्रम्पसँगको निकटताले चुनावमा आफूहरूलाई असर पार्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । एपी–एनओआरसी सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रति ३० प्रतिशत अमेरिकी मात्र सन्तुष्ट छन् । अर्थतन्त्र सञ्चालनप्रति उनको समर्थन २६ प्रतिशत र जीवनयापनको बढ्दो लागत व्यवस्थापनप्रति समर्थन १७ प्रतिशतमा सीमित रहेको छ । ६५ प्रतिशतभन्दा बढी अमेरिकीले बढ्दो मूल्यका लागि ट्रम्पका नीतिलाई जिम्मेवार मानेका छन् । ट्रम्पका केही पूर्वसमर्थक रिपब्लिकन नेताहरूले समेत उनका नीतिमाथि प्रश्न उठाउन थालेका छन् । आयोवा र मिशिगनका केही उम्मेदवारले इरान युद्ध चाँडै अन्त्य गर्न माग गरेका छन् भने केही सांसदले राष्ट्रपतिको युद्धसम्बन्धी अधिकार सीमित गर्ने पक्षमा विपक्षी दलका सांसदसँग मतदान गरेका छन् । फ्लोरिडाकी एक सांसदले ट्रम्पको कडा आप्रवासन नीतिमाथि पनि प्रश्न उठाएकी छन् । रिपब्लिकन उम्मेदवारका लागि अर्थतन्त्र र महँगी मुख्य चुनौती बनेका छन् । सर्वेक्षणमा ६४ प्रतिशत अमेरिकीले ट्रम्पले आयातमा लगाएको अतिरिक्त शुल्कको विषयमा आवश्यकताभन्दा बढी कदम चालेको बताएका छन् । यही कारण आगामी मध्यावधि निर्वाचनमा ट्रम्पको आर्थिक नीतिबाट आफूलाई कसरी अलग राख्ने भन्ने विषय रिपब्लिकन उम्मेदवारका लागि कठिन बनेको समाचारमा उल्लेख छ ।
१६- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतमा रहनेछन् । भ्रमणका क्रममा दुई देशका सेनाबीचको आपसी सम्बन्ध र सैनिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए । नेपाली सेनाले भ्रमणले लामो समयदेखि कायम नेपाल–बेलायत सैनिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अमेरिकाको विश्वव्यापी नेतृत्व कायम राख्ने उद्देश्यले नयाँ ‘सुपर इन्टेलिजेन्स फोर्स’ (एसआईएफ) गठन गरेका छन् । ह्वाइट हाउसअन्तर्गत गठन गरिएको यो कार्यदलले संघीय सरकारका कृत्रिम बुद्धिमत्तासम्बन्धी विभिन्न प्रयासबीच समन्वय गर्नेछ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नयाँ फोर्स गठनको घोषणा गरेका हुन्। उनले ‘सुपर इन्टेलिजेन्स’लाई औद्योगिक क्रान्ति र इन्टरनेटभन्दा पनि ठूलो परिवर्तन ल्याउन सक्ने प्रविधिका रूपमा प्रस्तुत गर्दै अमेरिकाले यस क्षेत्रमा विश्व नेतृत्व कायम राख्नुपर्ने बताएका छन् । नयाँ फोर्सको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नेछन् । उनको साथमा संघीय व्यापार आयोगका अध्यक्ष एन्ड्र्यु फर्ग्युसन, युद्ध विभागका अनुसन्धान तथा इन्जिनियरिङसम्बन्धी अवर सचिव एवं प्रमुख प्रविधि अधिकारी एमिल माइकल र कार्मिक व्यवस्थापन कार्यालयका निर्देशक स्कट कुपोर पनि रहनेछन् । ट्रम्पका अनुसार फोर्सले संघीय सरकारका विभिन्न निकायबीच कृत्रिम बुद्धिमत्तासम्बन्धी काममा समन्वय गर्नुका साथै अमेरिकी हितको संरक्षणमा पनि ध्यान दिनेछ । फोर्सले उपभोक्ता, जनहित समूह, धार्मिक संस्था, महत्वपूर्ण पूर्वाधार उपलब्ध गराउने निकाय तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने कम्पनीसँग सरकारको समन्वयलाई व्यवस्थित गर्नेछ । ट्रम्पले हालै विश्वका महत्वपूर्ण प्रविधि कम्पनीहरू एक ठाउँमा आएको ‘सुपर इन्टेलिजेन्स’सम्बन्धी सम्झौताको प्रसंग उल्लेख गर्दै अमेरिकी जनताप्रति प्रविधि कम्पनीहरूको जिम्मेवारी महत्वपूर्ण रहेको बताएका छन् । नयाँ फोर्सले राष्ट्रपति ट्रम्प र उनका प्रमुख स्टाफ सुसी वाइल्सलाई प्रतिवेदन दिनेछ । अमेरिकी सरकारले कृत्रिम बुद्धिमत्ताको विकासमा निजी प्रविधि कम्पनीसँग सहकार्य र संघीय निकायबीच समन्वय बढाइरहेका बेला नयाँ फोर्स गठन गरिएको हो । ट्रम्पले नयाँ पहललाई अमेरिकाको भविष्य र राष्ट्रिय हितसँग जोड्दै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अमेरिकी नेतृत्व कायम राख्नु यसको प्रमुख उद्देश्य भएको बताएका छन् ।
१८- पोर्चुगलले युरोपेली नेसन्स लिगको समूह ‘ए’ अन्तर्गत नर्वेलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । पोर्चुगलले घरेलु मैदान पोर्तोस्थित ड्रागाओ रंगशालामा नर्वेमाथि पुनरागमन जित निकालेको हो । खेलमा नर्वेले सुरुआती अग्रता लिए पनि पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको थियो । नर्वेका लागि क्रिस्टोफर आयरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जोआओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलले आक्रमणलाई थप तीव्र बनाएको थियो । खेलको ७९औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि नर्वेले बराबरीका लागि प्रयास गरे पनि पोर्चुगलले अग्रता जोगाउँदै खेल आफ्नो पक्षमा पारेको थियो । यो जितसँगै पोर्चुगल नेसन्स लिगको समूह ‘ए४’ बाट क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पोर्चुगलले समूह चरणका चारै खेल जित्दै शतप्रतिशत नतिजा कायम गरेको छ । टोलीले यसअघि वेल्सलाई १–०, नर्वेलाई उसकै मैदानमा २–१ र डेनमार्कलाई ४–२ ले पराजित गरेको थियो । पोर्चुगलका कप्तान ब्रुनो फर्नान्डेसको नेतृत्वमा टोलीले नर्वेविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेको थियो । नियमित कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा नरहेको अवस्थामा पनि पोर्चुगलले लगातार जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो सुरुआतलाई निरन्तरता दिएको छ । नर्वेका लागि कप्तान मार्टिन ओडेगार्ड र स्टार स्ट्राइकर एर्लिङ हालान्ड मैदानमा थिए। तर पोर्चुगलको रक्षापंक्ति र मध्यपंक्तिले उनीहरूलाई निर्णायक प्रभाव पार्नबाट रोक्यो । नर्वेले समूह चरणमा डेनमार्कलाई ३–२ ले हराएर सुरुआत गरेको थियो । त्यसपछि पोर्चुगलसँग १–२ र वेल्ससँग १–२ ले पराजित भएको थियो । पोर्चुगलको जितसँगै समूह ‘ए४’ मा क्वार्टरफाइनलको समीकरण पनि स्पष्ट हुँदै गएको छ । अब पोर्चुगलले आगामी खेलमा डेनमार्क र वेल्सको सामना गर्नेछ । नर्वेले पनि समूह चरणका बाँकी खेलमा वेल्स र डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले पछिल्ला खेलमा उत्कृष्ट नतिजा निकालेको छ । डेनमार्कलाई ४–२ ले हराएपछि नर्वेमाथि २–१ को जित निकाल्दै टोलीले क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको हो । पोर्चुगलका प्रशिक्षक जोर्जे जेसुसले रोनाल्डो राष्ट्रिय टोलीमा फर्किन चाहेमा उनको बाटो खुला रहेको बताएका छन् । रोनाल्डोले टोलीमा फर्किने वा नफर्किने निर्णय आफैँ गर्ने जेसुसको भनाइ छ ।
१९- बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । घटनामा एक मजदुर गम्भीर घाइते भएका छन् । आज बिहान झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको थियो । लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेको अवस्थामा ढिस्को खस्दा सडक निर्माणमा खटिएका मजदुरहरू पुरिएका हुन् । घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको छ । उनीहरू दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला पारिएको थियो । त्यस्तै, घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ । सडक स्तरोन्नतिका क्रममा अचानक माटोको ढिस्को खसेपछि दुर्घटना भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।
२०- अमेरिकाले बेलायतस्थित रोयल एयर फोर्स फेयरफोर्डमा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता गरेको छ । विमानस्थलनजिक भएको शंकास्पद सुरक्षा घटनापछि आसपासका ८५ घर खाली गराइएपछि अमेरिकाले आफ्ना बमवर्षक विमान फिर्ता गरेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको हो । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार फेयरफोर्डमा तैनाथ सबै अमेरिकी बमवर्षक विमान अमेरिकामै रहेका आफ्ना सम्बन्धित हवाई अखडामा फर्किसकेका छन् । सुरक्षा संवेदनशीलताका कारण आफ्ना विमान तथा सैनिक स्रोतसाधनको स्थानान्तरणबारे तत्काल जानकारी सार्वजनिक गर्न नसकिएको ती अधिकारीले बताएका छन् । बेलायतको दक्षिणपश्चिम क्षेत्रमा रहेको उक्त हवाई अखडामा गत आइतबार स्थानीय एक किसानले सडकमा तीनवटा भ्यान रोकिएको र केही व्यक्तिहरू शंकास्पद गतिविधिमा संलग्न रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापछि हवाई अखडानजिक रहेका ८५ घर खाली गराइएको थियो । प्रहरीले गरेको अनुसन्धानका क्रममा ती भ्यानमा विस्फोटक पदार्थ भने फेला नपरेको बेलायतको राष्ट्रिय आतङ्कवादविरोधी प्रहरी प्रमुख लरेन्स टेलरले बताएका छन् । तर भ्यानबाट केही मात्रामा पेट्रोल बरामद भएको उनले जानकारी दिएका छन् । घटनामा संलग्न रहेको आशंकामा लन्डनमा बस्दै आएका २० वर्षको दशकको मध्य उमेरका पाँच बेलायती पुरुषलाई पक्राउ गरिएको थियो । उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको छ । घटनाको उद्देश्यबारे विभिन्न अनुमान गरिएका थिए । हवाई अखडाको सुरक्षा जोखिमदेखि बेलायतमा यस साता ऊर्जाको मूल्य उच्च विन्दुमा पुगेका बेला इन्धन चोरीसँग सम्बन्धित गतिविधि हुन सक्ने आशंकासमेत गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका व्यक्तिहरूलाई धरौटीमा रिहा गरिएको विषयमा असन्तुष्टि जनाएका छन् । उनले आफू भएको भए उनीहरूलाई रिहा नगर्ने बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त घटनामा कुनै विदेशी पक्ष संलग्न रहेको बताएका छन् । तर उनले कुन देश वा पक्ष संलग्न रहेको हो भन्ने सार्वजनिक रूपमा खुलाएका छैनन् । लन्डनस्थित इरानी दूतावासले भने घटनामा इरानको संलग्नतासम्बन्धी अनुमान अस्वीकार गरेको छ । तेहरानको संलग्नताबारे गरिएको अनुमानलाई इरानले पूर्ण रूपमा अस्वीकार तथा कडा निन्दा गर्ने दूतावासले जनाएको छ । फेयरफोर्ड हवाई अखडामा पछिल्ला केही सातादेखि सुरक्षा व्यवस्था थप कडा पारिएको बताइएको छ । इरानविरुद्धको कारबाहीका लागि प्रयोग हुँदै आएको हवाई अखडा बेलायतले मार्च महिनामा अमेरिकालाई फेयरफोर्ड हवाई अखडा इरानभित्र गरिने निश्चित प्रतिरक्षात्मक कारबाहीका लागि प्रयोग गर्न अनुमति दिएको थियो । त्यसपछि अमेरिकी बमवर्षक तथा अन्य सैन्य विमानहरू उक्त हवाई अखडाबाट उडान भर्ने र अवतरण गर्ने गरेका थिए । फेयरफोर्ड मुख्यभूमि बेलायतमा इरानसम्बन्धी यस्तो प्रयोजनका लागि अमेरिकाले प्रयोग गरिरहेको एकमात्र हवाई अखडा रहेको बताइएको छ । सुरक्षा घटना फेयरफोर्डनजिकैको ह्वेलफोर्ड गाउँमा बस्ने एक किसानले प्रहरीलाई खबर गरेपछि सुरु भएको थियो । उनले सडक अवरुद्ध गरेर राखिएका तीनवटा भ्यान र मुख छोपेका केही मानिस त्यस क्षेत्रबाट भागिरहेको देखेका थिए । पछि खिचिएको हवाई दृश्यमा ती भ्यानभित्र ड्रमजस्ता वस्तु देखिएका थिए । तीमध्ये कम्तीमा एउटा भ्यानमा नक्कली चिन्ह र फोन नम्बर राखिएको पाइएको थियो। उक्त चिन्ह र नम्बरबाट भ्यानलाई वैध रूपमा सञ्चालन भइरहेको डिजेल आपूर्ति गर्ने कम्पनीको सवारीसाधनजस्तो देखाउने प्रयास गरिएको आशंका गरिएको छ । सुरक्षा घटनापछि अमेरिकाले फेयरफोर्डमा रहेका आफ्ना सबै बी–१ बमवर्षक फिर्ता गरे पनि अमेरिकी रक्षा मन्त्रालयले विमान फिर्ताको निर्णय र घटनाबीचको विस्तृत सम्बन्धबारे थप जानकारी सार्वजनिक गरेको छैन ।




