ओलम्पिक २०३६ को दौडमा भारत पनि, दाबी पेस गर्ने देश सात पुगे

काठमाडौं, २१ असोज । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्ने कतारको दाबीलाई पुष्टि गरेको छ। समितिले यस दौडमा रहेका सात देशहरूमध्ये भारत पनि समावेश रहेको जनाएको छ।

मङ्गलबार समितिद्वारा जारी गरिएको सूची अनुसार बाँकी देशहरूमा दक्षिण अफ्रिका, जर्मनी, हङ्गेरी, टर्की र दक्षिण कोरिया रहेका छन्। अन्य इच्छुक देशहरूलाई आफ्नो दाबी पेस गर्न अक्टोबर ३१ सम्मको समय दिइएको छ।

कतारले सन् २०२२ को फिफा विश्वकप तथा सन् २००६ को एसियाली खेलकुद सफलतापूर्वक आयोजना गरिसकेको छ भने सन् २०३० मा पुनः एसियाली खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको छ।

सन् २०२७ को मार्चमा समितिले को कार्यकारी बोर्डले इच्छुक राष्ट्रहरूको संक्षिप्त सूची (सर्टलिस्ट) तयार गर्नेछ। त्यसपछि मात्र ती राष्ट्रहरूसँग आधिकारिक संवाद सुरु गरिनेछ।

समितिका अनुसार सन् २०३६ को आयोजक छनोट गर्दा आर्थिक स्रोतका साथै राजनीतिक स्थिरता र जनसमर्थनलाई मुख्य आधार बनाइनेछ। “खेलकुद प्रतियोगिता जहाँसुकै आयोजना भए पनि एउटा कुरा कहिल्यै परिवर्तन हुनुहुँदैन: हामीले गर्ने हरेक कार्यको केन्द्रविन्दुमा खेलाडीहरू हुनुपर्छ,” समिति अध्यक्ष किर्स्टी कोभेन्ट्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जिम्बाब्वेकी पूर्व पौडीबाज कोभेन्ट्रीले थपिन्, “त्यसैले, भविष्यका हरेक आयोजकका लागि खेलाडीहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्नु नै सधैँ सुरुवातको विन्दु हुनुपर्छ।”

भारतले पहिलो पटक ओलम्पिक आयोजना गर्ने मनसाय व्यक्त गरेको छ। यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको प्रमुख सहर अहमदाबादलाई सम्भावित केन्द्रका रूपमा अघि सारिएको छ।

अहमदाबादले सन् २०३० को ‘कमनवेल्थ गेम्स’ आयोजना गर्दैछ, जसलाई ओलम्पिकको पूर्व-तयारीका रूपमा हेरिएको छ। यस सहरमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालासमेत अवस्थित छ।

दक्षिण अफ्रिकाले सन् २०१० को फुटबल विश्वकप र सन् १९९५ को रग्बी विश्वकप आयोजना गरे तापनि अहिलेसम्म ओलम्पिक आयोजना गर्ने अवसर पाएको छैन।खाडी क्षेत्रमा ओलम्पिक आयोजना गर्दा अत्यधिक गर्मीका कारण यसलाई परम्परागत समय (जुलाई-अगस्ट) भन्दा पछाडि धकेल्नुपर्ने बाध्यता रहन्छ।

images

जर्मन राष्ट्रिय ओलम्पिक समितिले गत महिना म्युनिखलाई उम्मेदवार सहरका रूपमा छनोट गर्ने निर्णय गरेको छ। यो प्रतियोगिता सन् १९३६ को बर्लिन ओलम्पिक (नाजी शासनको समयमा भएको) को ठ्याक्कै एक शताब्दी पछि आयोजना हुन लागेको हो।

टर्कीका ओलम्पिक अधिकारीहरू सन् २०२० को ग्रीष्मकालीन ओलम्पिकको दाबेदारीभन्दा यस पटक राम्रो नतिजा ल्याउने आशामा छन्। त्यसबेला इस्तानबुल टोकियोभन्दा पछि पर्दै दोस्रो स्थानमा सीमित भएको थियो।

images

सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुनेछ भने ब्रिस्बेनले सन् २०३२ को संस्करण आयोजना गर्नेछ। समितिका अनुसार सन् २०२८ मा प्राथमिकतामा परेका आयोजकहरूको नाम घोषणा गरिनेछ भने सन् २०२९ को मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।