
काठमाडौँ, २१ असोज । नेपाली काङ्ग्रेसको १५ौँ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो।


काङ्ग्रेस विधानमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४ (समावेशी महिला १ र खुला २ सहित), महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी जम्मा २४ जना पदाधिकारी रहने व्यवस्था छ। जसमध्ये ४ जना सहमहामन्त्री र १ जना कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने प्रावधान छ। यस अनुसार निर्वाचनमार्फत कुल १९ जना पदाधिकारी चयन हुनेछन्।

निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार ती १९ पदाधिकारी पदका लागि कुल ७९ जनाको उम्मेदवारी परेको छ।
पार्टीको सर्वोच्च पद ‘सभापति’का लागि ३ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन ।


वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला क्लस्टरतर्फको उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। दुबै निर्बिराेध भइसकेका छन् । शर्मा र भुसाल दुवै जना हाल पनि उपसभापति पदमै छन।

सार्वजनिक प्रथम नामावलीमा कुनै दाबी-विरोध रहेमा प्रक्रियागत दाबी-विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारकाे सुची हेर्न यहाँ क्लिक गर्नुहाेस्..




