देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको व्यक्तिगत तजबिज हाबी भएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । बारले संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्नुपर्ने र त्यसो गर्न वस्तुगत रूपमा सम्भव नभए गोलाप्रथा अपनाउनुपर्ने माग दोहोर्‍याएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकी स्थगित भएपछि बारले इजलास गठनलाई व्यक्तिगत रोजाइको विषय बनाउन नहुने जनाएको हो । स्पष्ट र पूर्वनिर्धारित मापदण्डबिना न्यायाधीश छनोट गर्दा न्यायिक निष्पक्षता र न्यायपालिकाको संस्थागत विश्वसनीयतामा प्रश्न उठ्ने बारको भनाइ छ । बारले भनेको छ-  ‘संवैधानिक इजलास कसैको निजी रोजाइको सूची होइन, न त न्यायाधीश छनोट गर्ने व्यक्तिगत विशेषाधिकारको क्षेत्र हो ।कुनै स्पष्ट, वस्तुगत र पूर्वनिर्धारित मापदण्डबिना गरिने स्वेच्छिक छनोटले न्यायिक निष्पक्षतामाथि मात्र होइन, न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गर्दछ ।’ बारले न्यायपालिका व्यक्तिको इच्छा वा तजबिजबाट नभई स्पष्ट नियम, निष्पक्ष पद्धति र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्ने जनाएको छ । साथै, आवश्यक परे न्यायिक स्वेच्छाचारिताविरुद्ध संस्थागत प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएको छ ।

२-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उहाँको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरे । उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता-जनताबीचको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको उल्लेख गरेका छन् । सभापति लामिछानेले रास्वपा र आफ्नो तर्फबाट नेपाल-भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन् । रविले भनेका छन्- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको यात्राका लागि हार्दिक बधाई । तपाईंको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ । नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनस्तरको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो तर्फबाट नेपाल–भारत साझेदारीलाई थप सुदृढ र दुवै देशका लागि समृद्ध बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गर्दछु ।’

३- सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ । एमाले संसदीय दलका उपनेता लीलबहादुर थापाले दायर गरेको रिटको सुनवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संबैधानिक व्यवस्था अनुसार विश्वासको मत नलिएको भन्दै दीर्घकालीन महत्त्वका विषयमा कुनै पनि निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो ।  मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले नेपालको संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरेको रिटमा दाबी गरेका थिए ।  पौडेलको इजलासले आदेशमा भनेको छ- ‘संवेदनशीलता र सुविधा सन्तुलनलाई दृष्टिगत गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्त्वका विषयमा निर्णय, काम वा कारबाही नगर्नू–नगराउनू ।’ साथै, सर्वोच्च अदालतले विपक्षीहरूलाई आदेश जारी हुन नपर्ने भए त्यसका आधार, कारण र प्रमाणसहित कात्तिक ११ गते भित्र लिखित जवाफ पेस गर्न पनि आदेश जारी गरेको छ । यसअघि सत्ता साझेदार रहेको दल नेकपा एमाले गत भदौ १० मा सरकारबाट बाहिरिएको थियो ।

४- सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि घटाउनेगरी ऐन संशोधन गर्ने भएको छ । जसका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई छोट्याएर करिब ४५ दिन बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्नेगरी ऐन संशोधन गर्न लागिएको हो ।   मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ । त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित रोखरेलकाअनुसार मन्त्रिपरिषद्ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै बैठकले बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ । नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

५-  नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम यसअघि तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजेदेखि शुरू गर्न लागिएको जानकारी दिएका छन् ।  उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् ।

६- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्र सकिएको छ । काठमाडौँको खुलामञ्चमा भएको बन्द सत्रले विभिन्न प्रतिवेदनहरु पारित गर्दै सकिएको हो । बन्द सत्रले सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको संगठानिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । यसअघि अर्का महामन्त्री प्रदिप पौडेलले प्रस्तुत गरेको विधानसम्बन्धि प्रस्ताव बन्दसत्रको पहिलो दिन सोमबार नै पारित गरिएको थियो । अब बन्द सत्र सकिएसँगै काँग्रेसको महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएको छ । नयाँ नेतृत्व चयन गर्न अहिलेसम्म उम्मेदवारी दर्ता भइसकेको छ भने अब विहिबार मतदान गर्ने तालिका रहेको छ ।

७-  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको महाधिवेशनमा अनुपस्थिति आफूहरूलाई नमिठो लागेको टिप्पणी गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले देउवाले लामो समय पार्टीमा योगदान दिएको स्मरण गर्दै उनको अनुपस्थितिले आफूहरूलाई नमिठो लागेको बताएका हुन् । उनले भने- ‘यो पार्टी तपाईं-हामी सबै मिलेर बनाएका हौं । श्रद्धेय अध्यक्ष शेरबहादुर देउवाले यो पार्टीमा लामो समय बिताउनुभएको छ, बनाउनुभएको छ । अरूले पनि ठूलो योगदान गरेका छन् । हामीलाई मिठो लागेको छैन। आज मञ्चमा दाइहरू पनि हुनुपर्थ्यो, भोलि पनि हामी जोडेर जान चाहन्छौँ। त्यसैले अब अरू कुरा छाडिदिनुस् ।’ थापाले कांग्रेसको विवाद बारे सर्वोच्च अदालतमा पटक-पटक निवेदन जाने क्रम रोक्न आग्रह गरे । उनले भने- ‘सर्वोच्च अदालतले कांग्रेसको विषयमा अर्को निवेदन पनि दरपीठ गरिदियो। सर्वोच्चले पटक-पटक पर्दैन भनिरहेको छ । त्यसैले अदालत धाउने, अदालत जाने काम नगर्नुस्। यसले समयको बर्बादी मात्र गर्छ ।’ उनले कांग्रेसभित्रको यो विवादलाई अब थप नलम्ब्याउन आग्रह गर्दै अब यो च्याप्टर बन्द गर्न सबैलाई आग्रह गरेका छन् । सभापति थापाले अब यो महाधिवेशनपछि काँग्रेसका सबै गुट सकिएको बताए ।

images

८-  इरानमा यस वर्ष सुरु भएको युद्धका क्रममा अमेरिकाले कम्तीमा ८१ वटा सैन्य विमान तथा ड्रोन गुमाएको वा क्षति बेहोरेको नयाँ अमेरिकी कंग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनले जनाएको छ । यी क्षतिको कुल मूल्य करिब ३.३ अर्ब अमेरिकी डलर रहेको प्रतिवेदनमा उल्लेख छ । क्षतिमा अमेरिकाका अत्याधुनिक एफ–३५ए लाइटनिङ–२, एफ–१५ लडाकु विमान र एमक्यू–९ रिपर ड्रोन समेत छन्। प्रतिवेदनअनुसार अमेरिकाले १२ एफ–१५ई, एक एफ–३५ए, दुई ए–१० थन्डरबोल्ट–२ र सात केसी–१३५ स्ट्राटोट्याङ्कर गुमाएको छ । कुवेतमाथि मार्च २ मा भएको ‘फ्रेन्ड्ली फायर’ घटनामा तीन एफ–१५ विमान खसालिएका थिए भने त्यसको अर्को महिना इरानमाथि थप एउटा एफ–१५ खसालिएको प्रतिवेदनमा उल्लेख छ। सेप्टेम्बर ९ र १० मा जोर्डनस्थित मुवाफ्फाक सल्ती हवाई आधारमा भएको इरानी हवाई आक्रमणमा कम्तीमा थप आठ एफ–१५ई विमानमा सामान्य क्षति पुगेको थियो । अमेरिकाले एक ई–३ सेन्ट्री, दुई एमसी–१३०जे कमान्डो–२, एक एचएच–६०डब्लू जॉली ग्रिन–२, एक एमक्यू–४सी ट्राइटन, तीन एमक्यू–१ र ४५ एमक्यू–९ रिपर ड्रोन समेत गुमाएको प्रतिवेदनले जनाएको छ। यसबाहेक एक एएच–६४ अपाचे, चार एएच–६ लिटल बर्ड र एक एमएच–६० सी हक हेलिकोप्टर पनि युद्धमा गुमाइएको उल्लेख छ । प्रतिवेदनअनुसार ई–३ सेन्ट्रीको मूल्य मात्रै प्रतिविमान २७ करोड डलर रहेको छ। एमक्यू–९ रिपर ड्रोनको अनुमानित मूल्य प्रतिवटा ३ करोडदेखि ५ करोड डलरसम्म तथा एफ–३५ए लडाकु विमानको मूल्य ९ करोड २० लाख डलरभन्दा बढी रहेको उल्लेख छ । अमेरिकी सेनाले इरानमा प्रयोग गरेका हतियारको खर्चसमेत तीव्र रूपमा बढेको छ। कंग्रेसनल बजेट अफिसको पछिल्लो विवरणमा २१.७ अर्ब डलर रहेको खर्च अमेरिकी सेन्ट्रल कमान्डको अनुमानमा बढेर २८.१ अर्ब डलर पुगेको छ। यद्यपि केही सैन्य विवरण अझै गोप्य रहेकाले क्षतिको संख्या परिवर्तन हुन सक्ने र क्षतिग्रस्त केही विमान मर्मतपछि पुनः सञ्चालनमा आउन सक्ने प्रतिवेदनले जनाएको छ । अमेरिकी ह्वाइट हाउस र रक्षा मन्त्रालयले भने प्रतिवेदनबारे अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् ।

९- सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार हेनरी बी. कागान (फ्रान्स), केन्सो सोआई (जापान) र टोमस बी. कागानलाई प्रदान गरिएको छ ।   उनीहरूलाई असममित जैविक संश्लेषणमा गैररेखीय प्रभाव र स्वउत्प्रेरणाको खोजका लागि पुरस्कार प्रदान गरिएको हो । कागान र सोआईले रासायनिक प्रतिक्रियाबाट एकअर्काका ऐना प्रतिबिम्बजस्ता अणुमध्ये एउटालाई मात्र कसरी उत्पादन गर्न सकिन्छ भन्ने लामो समयदेखिको रहस्य समाधान गर्न महत्वपूर्ण योगदान दिएका थिए । कागानले सन् १९८६ मा रासायनिक प्रतिक्रियालाई नियन्त्रण गर्ने नयाँ विधि विकास गरेका थिए भने सोआईले सन् १९९५ मा समरूपी संरचना उत्पादन गर्न सक्ने पहिलो रासायनिक प्रतिक्रियाको अवधारणा प्रस्तुत गरेका थिए । सन् २००३ मा उनले दुई सम्भावित ऐना प्रतिबिम्बमध्ये एउटामात्र बन्ने प्रतिक्रिया सफलतापूर्वक प्रदर्शन गरेका थिए । उनीहरूको खोज विशेषगरी औषधि निर्माणका लागि आवश्यक रासायनिक प्रतिक्रिया विकास गर्न महत्वपूर्ण मानिएको छ ।

images

१०- चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम तय भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता मन्त्रालयमै हुने भएको छ । पहिलो दिन असोज २५ गते शनिबार दुई समूहका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । समूह ‘क’मा अमर दिप सापकोटा, जयन्ती ओझा, जेनिस पहारी र डम्बरबहादुर बुढाथोकी रहेका छन् । उनीहरूको कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । त्यसपछि समूह ‘ख’का दिपा पाण्डे, नरेशकुमार के.सी. र नरेशकुमार पौडेलको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिउँसो १: ३० बजेदेखि ३ बजेसम्म हुनेछ । त्यस्तै, २०८३ असोज २६ गते सोमबार समूह ‘ग’का निशा अधिकारी, भगवती कुमारी (मैनाली) उप्रेती, मनिष पण्डित र सुवास कोइरालाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ९ बजेदेखि ११ बजेसम्म हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उम्मेदवारहरूले तोकिएको समयभन्दा ३० मिनेटअघि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको स्लाइडसहित आवेदनका साथ पेस गरिएका सम्पूर्ण कागजातको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ । व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि १५ मिनेट र बाँकी समय अन्तर्वार्ताका लागि छुट्याइएको छ । कार्यक्रम सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबारमा हुने जनाइएको छ ।

११-  नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर रोकिएको छ । आज ३५९ कम्पनिका एक करोड ३ लाख ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मा कारोबार भएको थियो । आज बैंकिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर ६.२५ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ समुन्नत योजना- २ को शेयर ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३२ करोड २१ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २९ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

images

१२-  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका हुन् । उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए । सभापति पदमा राठोरसहित गगन थापा र श्याम खड्गीको उम्मेदवारी परेको थियो ।

१३- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न साझेदार संघ–संस्थासँग प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तहमा प्रभावित परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्न इच्छुक संस्थालाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो । प्रस्तावमा संस्थाले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, स्थान र सम्बन्धित स्थानीय तहको नाम स्पष्ट खुलाउनुपर्नेछ। साथै निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ । यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत प्रस्तावमा उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ । इच्छुक संस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्नुपर्ने र प्राधिकरणले आवश्यक विवरणसहित सात दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

१४-  देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार र जनचेतनामूलक गतिविधिलाई तीव्र बनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना संक्रमित भएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । संक्रमणको अवस्था हेर्दै महाशाखाले असारदेखि सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणबारे छलफल गर्दै आएको जनाएको छ । ईडब्लुएआरएस र सोर्मास लगायतका रोग निगरानी प्रणालीमार्फत संक्रमणको अवस्था र प्रवृत्तिको नियमित अनुगमन भइरहेको मन्त्रालयले जनाएको %

Nepal life insurance